प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै कांग्रेसको प्रश्न : ‘नेपालले कहाँनेर भारतको भूमि मिच्यो ?’
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले 'नेपालले पनि भारतको भूमि मिचेको' भनी दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले कुन स्थानमा भारतको सीमा मिचेको हो, त्यसको स्पष्ट जानकारी दिन सरकारसँग माग गरिन्। उनले उक्त भनाइ सत्य भए प्रमाण पेश गर्न र असत्य भए संसद्को रेकर्डबाट हटाउन सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, "भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो। होइन भने, दुई देशको सीमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।"
नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको भनाइलाई आपत्तिजनक भन्दै उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे। दुई देशबीचको सीमा विवाद जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट यस्तो टिप्पणी आउनु गम्भीर रहेको उनीहरूको भनाई थियो।
जेठ १७, २०८३ आइतबार १५:०४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।