सुकुमबासी व्यवस्थापनबारेमा प्रश्न, जवाफमा समाजवाद र साम्यवादको व्याख्या
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको वर्तमान आवश्यकता आर्थिक सबलीकरण भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले देशको सम्मान र सुकुमबासी व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहलाई प्रश्न गरेका थिए।
जवाफमा शाहले भने, "आत्मविश्वास बढाउनेभन्दा पनि देशलाई पैसा चाहिएको छ। पैसा बढाउनेतिर हाम्रो ध्यान गएको छ।" सुकुमबासीको प्रश्नको भने उनले जवाफ दिएनन्। त्यसको सट्टा समाजवाद र साम्यवादको प्रसङ्ग झिके।
काठमाडौं महानगरपालिकामा मेयर रहँदा आफूले कार्यान्वयन गरेको शिक्षामा १० प्रतिशत स्कलरसिप र स्वास्थ्यमा १० विपन्नको निःशुल्क उपचारको प्रसङ्ग जोडे। उनले भाषणमा गरिने समाजवादभन्दा परिणाममुखी कार्यले नागरिकको जीवनमा परिवर्तन ल्याउने आशय व्यक्त गरे।
"साम्यवाद र समाजवाद भाषणमा दिन सहज हुन्छ मजा पनि आउँछ।" प्रधानमन्त्री शाहले भने, "तर, साँच्चिकै समाजवाद र साम्यवाद गर्ने हो भने म काठमाडौं महानगरपालिकाको मेयर हुँदाको उदाहरण दिन चाहन्छु। विपन्नलाई १० प्रतिशत स्कलरसिप दिने लागु गरेका थियो। विपन्नले महँगा कलेजमा पढ्न पाए। साँच्चिकै समाजवाद भनेको त्यो हो।"
उनले संविधानमा निःशुल्क शिक्षा लेखिए पनि बजेटले त्यो सम्भव नरहेको बताए। उनले बजेट हरेर संविधान नलिएको धारणा राखे।
जेठ १७, २०८३ आइतबार १४:४३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।