लामो बिदा र गर्मी छल्ने पर्यटकका कारण पोखराका होटल ९० प्रतिशत भरिए

लामो बिदा र गर्मी छल्ने पर्यटकका कारण पोखराका होटल ९० प्रतिशत भरिए

गण्डकी : चार दिन लामो सार्वजनिक बिदा र गर्मी छल्न आउने भारतीय पर्यटकका कारण पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ।

बिहीबारदेखि नै पोखराका लेकसाइडलगायत प्रमुख पर्यटकीय क्षेत्रका होटलहरू पाहुनाले भरिभराउ भएका छन्।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यसबीचमा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको बताए। 

“बिहीबारदेखि आइतबारसम्म बिदा परेका कारण पोखरा घुम्न आउनेको सङ्ख्या बढेको छ, यतिबेला भारतीय पर्यटकको आगमन बढेको छ”, उनले भने, “पोखरासँगै आसपासका गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ।”

सरकारले हप्तामा दुई दिन बिदा दिन सुरु गरेपछि आन्तरिक पर्यटन गतिविधि बढेको अध्यक्ष सुवेदीले बताए। सरकारको उक्त निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न मद्दत पुग्ने उनको भनाइ छ। 

मनसुन सुरु हुनुअघिको चैतदेखि जेठसम्मको समयलाई नेपालको दोस्रो मुख्य पर्यटकीय याम मानिन्छ, जुन पदयात्राका लागि पनि उपयुक्त छ। पोखराको शितल मौसम र झरीका कारण छिमेकी देश भारतको चर्को गर्मी छल्न भारतीयहरू पोखरा आउने गर्छन्।

पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन्। पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन्। पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रबिन कडरियाले बताए। 

अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको उनको भनाइ छ। अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थल पर्छन्। कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ। 

जेठ १६, २०८३ शनिबार १८:३०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।