डा. एरिकको उपचार अनुभव : आँखा शिविरमा जाँदा भारतीय सुरक्षा बलका कमाण्डरको केरकार खेप्नुपरेको त्यो क्षण

डा. एरिकको उपचार अनुभव : आँखा शिविरमा जाँदा भारतीय सुरक्षा बलका कमाण्डरको केरकार खेप्नुपरेको त्यो क्षण

काठमाडौं : नेत्र रोग विशेषज्ञ डा. एरिक वैद्यले दुर्गम गाउँबस्तीमा पुगेर दृष्टि गुमाएका थुप्रै व्यक्तिको जीवनमा उज्यालो फर्काएका छन्।

शहरमा मात्र केन्द्रित नभई दुर्गम क्षेत्रका बिरामीको पीडा र अवस्थालाई नजिकबाट नियालेका डा. वैद्यले दृष्टि गुमाउँदा बिरामीले भोगेका दुःख र संघर्षलाई नजिकबाट महसुस गरेका छन्। उनै नेत्र रोग विशेषज्ञ डा. एरिकले आफ्नो पेसागत यात्राका भोगाइ र अनुभवहरू उकेरासँग साटेका छन्।

भारतीय सुरक्षा बलको त्यो केरकार
नेत्र रोग विशेषज्ञ डा. एरिक दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा कार्यरत रहँदा नेपालको एक दुर्गम गाउँमा आँखा शिविर गर्ने कार्यक्रम तय भयो। त्यतिबेला नेपालतर्फ सडक बाटो नभएका कारण भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो। डा. एरिकको टिम पनि दुर्गम गाउँमा आँखा शिविरको लागि भारत हुँदै जाँदै थियो।

दुई वटा गाडीमा उनको टिम नेपाल-भारत सीमाको ‘खंग्रा’ नाकामा पुग्यो। त्यहाँ सीमा सुरक्षाका लागि खटिएको भारतीय सुरक्षा बल (एसएसबी)बाट भएको व्यवहार डा. एरिकको मानसपटलमा अझै ताजा छ।

सीमा नाकामा उनको टिमलाई भारतीय सुरक्षा बलले एक घण्टासम्म रोकेर केरकार गर्यो। रोचक कुरा, सुरक्षाका दृष्टिले हुनुपर्ने सोधपुछमा मोतीबिन्दुको शल्यक्रिया र उपचार खर्च सम्बन्धित विषयमा प्रश्न गरिँदै थियो। करिब एक घण्टाको सोधपुछपछि भारतीय सुरक्षा बलका कमाण्डरले भनेछन्, ‘मेरी आमाको मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने छ, तपाईंको अस्पतालमा ल्याऊँ त ?’

डा. एरिकले बल्ल थाहा पाए सीमा सुरक्षामा खटिएका ती कमाण्डरले मोतीबिन्दुको विषयमा चासो राख्नुको उद्देश्यबारे। उनले ती भारतीय सुरक्षा बलका कमाण्डरलाई आफ्नी आमालाई उपचारका लागि ल्याउन सुझाव दिए। ती कमाण्डरले उनको सम्पर्क नम्बर लिए। अनि भारतीय सुरक्षा बल (एसएसबी)को अनुमतिमा डा. एरिक लगायत चिकित्सकको टिम त्यहाँबाट सीमा नाका पार गरेर आँखाको स्वास्थ्य शिविरतर्फ लाग्यो।

यो केही वर्षअघिको घटना थियो। डा. एरिकको टिम शिविर सकेर राप्ती आँखा अस्पतालमा फर्किएपछि भारतीय सुरक्षा बल ती कमाण्डर आमाको आँखाको उपचारका अस्पताल पुगे। डा. एरिकले उनको आमाको आँखाको स्वास्थ्य परीक्षण गरे। आमाले आँखा देख्न छोडेको लामो समय भइसकेको रहेछ। डा. एरिकले ती आमाको उपचार गरेपछि आँखाको ज्योति फर्कियो। उपचार सफल भएपछि ती भारतीय सुरक्षा बलका कमाण्डरले डा. एरिकलाई धन्यवाद दिँदै घर फर्किए।

कहिल्यै चप्पल नलाएकी ८५ वर्षीय आमैको दुवै आँखाको ज्योति फर्किएपछि...
डा. एरिकले अर्को एक स्वास्थ्य शिविरमा ८५ वर्षीय आमाको आँखाको ज्योति फर्कँदाको अनुभव पनि सम्झिरहन्छन्। केही महिनाअघि सिन्धुपाल्चोकको एउटा दुर्गम गाउँमा डा. एरिक लगायत चिकित्सकको टिम स्वास्थ्य शिविर लिएर पुगेको थियो।

करिब ८५ वर्षीय आमाको आँखाको उपचार सम्भव हुन्छ कि भनेर छोरी लगायत परिवारका सदस्यहरूले बोकेर स्वास्थ्य शिविरमा पुर्याइयो। आमाले दुवै आँखा नदेख्ने रहेछन्। आमाको खुट्टामा चप्पल थिएन। डा. एरिकले सुनेअनुसार ती आमाले जिन्दगीमा कहिल्यै पनि चप्पल-जुत्ता लगाएकी थिइनन्। 

मोतीबिन्दुको समस्याका कारण आँखा देख्न छोडेको करिब दश वर्ष भइसकेको रहेछ। उज्यालो बाहेक केही नदेख्ने उनले मान्छे देखेर चिन्न छाडेको धेरै समय भइसकेको थियो। अवस्था नाजुक थियो। डा. एरिकको टिमले आँखाको शल्यक्रिया गरेर आँखामा पट्टि लगायो। भोलिपल्ट आँखाको पट्टि खोल्दा ती आमाले शल्यक्रिया गरिएको तर्फको आँखाले बाहिरी संसार देखिन्।

आँखाले देख्ने भएपछि ती आमाको खुसीको सीमा नै रहेन। चिकित्सकको टिमले उनको अर्को आँखाको पनि शल्यक्रिया गर्यो। खानपानदेखि सामान्य दैनिकी आफैँ गर्न नसकेर अरूको सहारामा बाँची रहेकी ती आमा अहिले छर्लङ्गै आँखा देख्ने भएकी छन्। आँखा देख्ने आशासमेत मारेकी ती आमाले दुवै आँखा देखेपछिको त्यो खुसीको क्षण डा. एरिक शब्दमा वर्णन गर्न सक्दैनन्। ८५ वर्षीय आमाको दुवै आँखाको ज्योति फर्काउन पाउँदाको त्यो क्षणले उनलाई आनन्द महसुस गराउँछ। 

बसन्तपुरको आँगनमा बितेको बाल्यकाल
२०४३ मा काठमाडौंको वसन्तपुर नजिकै रहेको चिकमुगलमा जन्मिएका एरिक सानैबाट बसन्तपुर क्षेत्रको आँगनमा खेल्दै हुर्किए। अध्ययनमा अब्बल उनले ललितपुरको हात्तिबनस्थित लिटिलएन्जल्स स्कुलबाट २०५९ मा प्रथम श्रेणीमा एसएलसी गरे। सानैबाट डाक्टर बन्ने सपना बोकेका उनले काठमाडौंको माइतिघरस्थित सेन्ट जेभियर्स कलेजबाट आइएस्सी गरे। 

आइएस्सीपछि उनले एमबीबीएस अध्ययनका लागि तयारी गरे। छनोट परीक्षा दिए, नाम निकाल्न सफल पनि भए। काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल)मा सन् २००७ मा भर्ना भएर एमबीबीएस एरिकले सन् २०१२ मा एमबीबीएसको अध्ययन पूरा गरे। अध्ययनपछि उनले केही समय निजी अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरे।

जापनिज डाक्टरको उत्प्रेरणाले नेत्र रोग बन्ने त्यो बाल सपना 
सानैमा डा. एरिकले जापनिज नेत्र रोग विशेषज्ञहरूले नेपालमा आएर आँखाको समस्या भएका व्यक्तिको उपचार गर्नुका साथै मोनिविन्दुको शल्यक्रिया गरेर व्यक्तिको आँखाको ज्योति फर्काएको देखेका थिए। त्यसैले उनमा पनि ती जापानीज डाक्टरहरू जस्तै आँखाको उपचार गर्ने डाक्टर बन्ने सपना थियो।

नभन्दै चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनमा उनले आफूले छनोट गरेकै विषयमा अध्ययन गर्ने मौका पाए। छनोट परीक्षा पारगरेपछि उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०१४ मा भर्ना भए। चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा नेत्र रोग (अफलाल्मोलोजी) विषयमा उनी एमडी अध्ययन गर्न थाले।

सन् २०१७ मा एमडी अध्ययन सकेपछि डा. एरिक नेत्र रोग विशेषज्ञका रूपमा काम गर्न दाङको तुलसिपुरस्थित राप्ती आँखा अस्पतालमा पुगे। त्यहाँ उनले सन् २०२१ सम्म काम गरे।

त्यहीबीच नेत्र रोग विशेषज्ञ डा. एरिकले जापान पुगेर आइची मेडिकल युनिभर्सिटी अस्पतालबाट आँखाको ‘अक्लोप्लास्टिक’ सर्जरीसम्बन्धी विषयमा एक वर्षे फेलोसिप गरेर यस विषयमा थप ज्ञान तथा सिप सिके। उनले जापानमा नै मोतीबिन्दु (क्याट्राक) सम्बन्धी थप ज्ञान तथा सिप पनि सिके।

राप्तीपछि डा. एरिक काठमाडौंको कीर्तिपुर आँखा अस्पतालमा आइपुगे। साढे चार वर्षयता उनी त्यहीँ कार्यरत डा. एरिक हाल कीर्तिपुर आँखा अस्पतालको मेडिकल डाइरेक्टरको भूमिकामा समेत छन्।
 
‘अक्लोप्लास्टिक’ अन्तर्गत ‘रिकन्स्ट्रक्टिभ’ र ‘कस्मेटिक्स’ दुवै किसिमको सर्जरी पर्छ। जुन ज्ञान तथा सिप उनीसँग छ। ‘अक्लोप्लास्टिक’ आँखाको जन्मजात अंगभंग भएका रोगहरू, आँखाको वरिपरि चोटपटक लाग्ने रोगहरू, आँखाको डिलसम्बन्धी रोगहरू, आँखाको ट्युमर निकाल्ने, आँखाबाट आँसु झर्ने नली सम्बन्धीका रोगहरू, आँखाको क्यान्सर सम्बन्धीका रोगहरूको उपचार गर्ने चिकित्सकीय विषय हो।

त्यसैगरी आँखाको ढकनी मिलाउने, आँखाको आकार मिलाउने, सानो आँखा ठूलो र ठूलो आँखा सानो बनाउने, आँखाको बाहिरी आकार मिलाउने, आँखा वरिपरि पलाएका मासुका डल्ला निकाल्ने, आँखाको रिंकल मिलाउने जस्ता आँखाको सौन्दर्यसँग सम्बन्धी शल्यक्रियामा समेत डा. एरिक केन्द्रित हुन्छन्। जुन ‘अक्लोप्लास्टिक’ सर्जरी अन्तर्गत पर्छन्।
 
आँखाको समस्या भएका बिरामीको औषधि उपचार गर्ने तथा शल्यक्रिया गर्ने, आँखा नदेख्ने बिरामीलाई आँखा देखाउने अनि नेत्र रोगसँग सम्बन्धी खोज तथा अनुसन्धान गर्नु नै डा. एरिकको अहिलेको मुख्य दैनिकी हो। उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा ५० भन्दा बढी नेत्र रोगसँग सम्बन्धित विषयमा वैज्ञानिक आलेख (जर्नल आर्टिकल) प्रकाशित छन्। आँखाको ज्योति फर्काउने यही कर्ममा उनी तल्लीन छन्।
 

जेठ १६, २०८३ शनिबार १८:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।