डेटिङ एपको दलदल : अनलाइन प्रेमको खोजी कि मानसिक तनावको बाटो?
एजेन्सी : दुई वर्षअघि २९ वर्षीया फर्नान्डाले आफ्ना सबै डेटिङ एपहरू मोबाइलबाट डिलिट गरिन् र कसम खाइन्- ‘अब म कहिल्यै यी एपहरू चलाउने छैन।’
तर, केही समयपछि उनका नजिकका साथीहरूले अनलाइनबाटै आ-आफ्नो जोडी भेटेको र उनीहरूको जीवन सुखद बनेको कथाहरू सुनाउन थाले। साथीहरूको कुरा सुनेर फर्नान्डाको मन पग्लियो र उनले फेरि केही डेटिङ एपहरू डाउनलोड गरिन्। उनले सोचिन्- ‘शायद यस पटक केही फरक हुनेछ।’
तर, उनी पूर्ण रूपमा गलत सावित भइन्। एप चलाउन थालेको केही दिनमै उनी एकै पटक धेरै जनासँग कुराकानीमा अल्झिन थालिन्। हरेक समय मोबाइलमा मेसेज चेक गर्ने र च्याटिङमा आफूलाई बढीभन्दा बढी रमाइलो र आकर्षक देखाउनुपर्ने दबाबले उनलाई थिच्यो।
फर्नान्डा भन्छिन्, ‘यसले मेरो वास्तविक जीवनका साथीभाइ र कामलाई समेत असर गर्न थाल्यो। एपमा मानिसहरूको भीड त थियो, तर कसैसँग पनि मन मिलेन। यसले मलाई पहिलेभन्दा झन् बढी एक्लो र कमजोर बनायो।’
यो फर्नान्डाको मात्र होइन, संसारभरिका लाखौँ युवाहरूको साझा कथा हो। विज्ञानको भाषामा यसलाई ‘डेटिङ एप बर्नआउट’ अर्थात् डेटिङ एपका कारण उत्पन्न हुने गम्भीर मानसिक थकान भनिन्छ।
‘डेटिङ एप बर्नआउट’ के हो? यसका लक्षणहरू कस्ता हुन्छन्?
मनोवैज्ञानिकहरूका अनुसार डेटिङ एपको अत्यधिक प्रयोगले मानिसमा त्यस्तै तनाव उत्पन्न गर्छ, जस्तो कुनै अत्यधिक दबाब भएको जागिरमा काम गर्दा हुन्छ। यसका मुख्य तीनवटा लक्षणहरू हुन्छन्:
दिनभरि मोबाइलको स्क्रिनमा औँलाले दायाँ-बायाँ ‘स्वाइप’ गर्दागर्दै दिमाग पूर्ण रूपमा गलिसक्छ। मानिसमा कुनै पनि नयाँ कुराकानी सुरु गर्ने ऊर्जा र जाँगर बाँकी रहँदैन।
सुरू-सुरूमा प्रयोगकर्ताहरू सबैलाई आदरपूर्वक व्यवहार गर्छन्। तर, धेरै प्रोफाइलहरू हेर्दै जाँदा बिस्तारै उनीहरू अरू मानिसप्रति संवेदनशील हुन छोड्छन्। मानिसहरू मानिस जस्तो नलागी स्क्रिनमा देखिने निर्जीव तस्बिर वा वस्तु जस्तो मात्र लाग्न थाल्छन्।
लगातार कुराकानी गर्दा वा कयौँ डेटिङ जाँदा पनि कोही मन परेन भने प्रयोगकर्तामा हीनताबोध सुरू हुन्छ। उनीहरू सोच्न थाल्छन्- ‘शायद मै मा केही खराबी छ’ वा ‘म नै कसैको योग्य छैन कि क्या हो!’
के भन्छ त वैज्ञानिक अनुसन्धान?
अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीको 'रिलेसन्सिप एन्ड टेक्नोलोजी ल्याब' की निर्देशक लिजेल शराबीले विगत १७ वर्षका अध्ययनहरूको विस्तृत विश्लेषण गरेकी छन्, जसमा करिब २६ हजार मानिस सहभागी थिए।
उनको अनुसन्धानले डेटिङ एप प्रयोग गर्ने मानिसहरूको मानसिक स्वास्थ्य एप प्रयोग नगर्नेहरूको तुलनामा निकै कमजोर पाइएको छ। उनीहरूमा डिप्रेसन, एन्जाइटी, एक्लोपन र मानसिक अशान्ति बढी देखिएको छ।
विशेष गरी, पहिलेदेखि नै एक्लोपन वा मानसिक समस्यासँग जुधिरहेकाहरूका लागि सामाजिक रूपमा घुलमिल हुन डेटिङ एप सजिलो माध्यम त बन्छ। तर उनीहरू नै सबैभन्दा चाँडो र गम्भीर रूपमा यसको लत र मानसिक तनावको सिकार हुने गरेको पाइएको छ।
एप कम्पनीहरूको अदृश्य खेल र व्यवसाय
डेटिङ एपहरूले मानिसहरूलाई जोडी भेटाउन मद्दत गर्छन् भन्ने हामीलाई लाग्न सक्छ। तर, यसको पछाडि ठूलो व्यावसायिक स्वार्थ लुकेको हुन्छ। डेटिङ एपहरूले कमाउने मुख्य स्रोत भनेकै ‘सब्सक्रिप्सन’ (पैसा तिरेर लिइने विशेष सुविधाहरू) हो।
यदि सबै प्रयोगकर्ताले तुरुन्तै आफ्नो जीवनसाथी भेट्टाएर एप डिलिट गरे भने ती कम्पनीहरूको व्यापार डुब्छ। त्यसैले, उनीहरूले प्रयोगकर्तालाई लामो समयसम्म एपमै अल्झाइराख्न विभिन्न प्रविधि प्रयोग गर्छन्।
डेटिङ एपको स्वाइप गर्ने तरिका क्यासिनोको ‘स्लट मेसिन’ जस्तै डिजाइन गरिएको हुन्छ। एक पटक स्वाइप गर्दा राम्रो मानिस भेटिएन भने अर्को पटक भेटिन्छ कि भन्ने आशमा मानिसहरू लगातार स्क्रिन स्क्रोल गरिरहन्छन्।
ब्रुकलिनका लेखक एवं कमेडियन डालस कोइलिङ भन्छन्, ‘हिन्ज वा टिन्डर जस्ता एपमा हामी एकै दिनमा जति मानिसका अनुहार हेर्छौँ, उति त पहिलेका मानिसहरूले आफ्नो पूरै जीवनकालमा पनि भेट्दैनथे होलान्। यो अचम्मको सुविधा त हो, तर यसले ब्याटिङलाई आनन्दको साटो एउटा बोझिलो काम बनाइदिएको छ।’
सन् २०२४ मा संसारकै ठूलो डेटिङ एप कम्पनी ‘म्याच ग्रुप’ (टिन्डर र हिन्जको माउ कम्पनी) विरुद्ध अमेरिकी अदालतमा एउटा मुद्दा दायर भयो।
मुद्दामा कम्पनीले जानाजानी प्रयोगकर्तालाई लत लाग्ने गरी एप डिजाइन गरेको र मानिसलाई जोडी भेटाउनुभन्दा आफ्नो नाफा बढाउन प्रयोग गरेको आरोप लगाइएको थियो। यद्यपि, कम्पनीहरूले यस्ता आरोपहरू अस्वीकार गर्दै आएका छन्।
यो मानसिक तनावको दलदलबाट कसरी उम्कने?
डेटिङ एपको चक्रमा फसेर मानसिक रूपमा हैरान भएकाहरूलाई अनुसन्धानकर्ताहरूले यसबाट बच्न ४ वटा वैज्ञानिक उपायहरू सुझाएका छन्।
उनीहरूले डेटिङ एपलाई नयाँ मानिस भेट्ने एउटा सहायक माध्यम मात्र मान्न आग्रह गर्दै मानिसहरूसँग प्रत्यक्ष भेटघाट हुने ठाउँहरू जस्तै- खेलकुद क्लब, पुस्तकालय, सामाजिक सेवा वा साथीभाइको पार्टीहरूमा जान सुझाएका छन्। यसले गर्दा अनलाइनको एउटा नराम्रो कुराकानीले तपाईंको पूरै हप्ता बिगार्न नपाउने सुझाव छ।
बिनाउद्देश्य घण्टौसम्म स्वाइप गरिरहने बानी छाड्न तथा सामाजिक सञ्जाल चलाए जस्तै यसका लागि पनि समय तोक्न समेत उनीहरूले सुझाव दिएका छन्। जस्तै- ‘म दिनको १५ मिनेट वा हप्ताको तीन पटक मात्र यो एप खोल्छु र बन्द गर्छु।’ दिमाग र मुड खराब हुन थाल्नुअघि नै मोबाइल बन्द गर्न समेत उनीहरूले आग्रह गरेका छन्।
यस्तै, अनुसन्धानकर्ताहरूले डेटिङ एपको तनाव एक्लै बस्दा झन् बढ्ने भन्दै अनलाइन च्याटिङका क्रममा भएका नराम्रा अनुभव, हाँस्यास्पद कुराकानी वा निराशाका कुराहरू आफ्ना नजिकका साथीहरूसँग सेयर गर्न भनेका छन्। साथीहरूसँग दुःख-सुख बाँड्दा मनको बोझ हलुका हुने र नकारात्मक सोचाइबाट बच्न सकिने भनिएको छ।
यसका अलावा यदि एप चलाएपछि रिस उठ्ने, दिक्क लाग्ने, आफू कुरुप वा अयोग्य भएको महसुस हुने वा कहिल्यै कोही भेटिन्न जस्तो निराशा उत्पन्न हुन्छ भने तुरुन्तै एपहरू मोबाइलबाट डिलिट गर्न समेत उनीहरूको सुझाव छ।
त्यसपछि केही महिनाका लागि भर्चुअल प्रेमको खोजीबाट पूरै विश्राम लिन र आफ्नो वास्तविक जीवनमा ध्यान केन्द्रित गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन्।
बीबीसीबाट अुनवाद गरिएको
जेठ १६, २०८३ शनिबार १२:२५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।