गणतन्त्र दिवसमा सुकुमबासीको मार्च : ‘गणतन्त्र जिन्दावाद! GUNतन्त्र मुर्दावाद!!’ (फोटो फिचर)

गणतन्त्र दिवसमा सुकुमबासीको मार्च : ‘गणतन्त्र जिन्दावाद! GUNतन्त्र मुर्दावाद!!’ (फोटो फिचर)

काठमाडौं : विकल्पबिना डोजर प्रयोग गरी बस्ती हटाएर उठिबास लगाएको विरोधमा भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले शुक्रबार काठमाडौंमा ‘भूमिहीन सुकुमबासी मार्च’ निकालेका छन्।

गणतन्त्र दिवसको सन्दर्भ पारेर संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नागरिक आन्दोलन र जेनजी मुभमेन्ट अलायन्सको संयुक्त आयोजनामा उक्त प्रदर्शन गरिएको हो। माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बिजुलीबजार हुँदै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। 

र्यालीमा सहभागीहरूले राज्यले उचित विकल्प र व्यवस्थापन नगरी बस्तीहरूमा बल प्रयोग गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। गणतन्त्रमा नागरिकको वासस्थानको हक सुरक्षित हुनुपर्नेमा उल्टै राज्यले त्रास सिर्जना गरेर उठीबास लगाएको उनीहरूको आरोप छ। उचित विकल्प सुनिश्चित र भूमिहीनका समस्या समाधान गर्न माग गरिएको छ।

उनीहरूले ‘गणतन्त्र जिन्दाबाद, गनतन्त्र मुर्दावाद’ 'डोजर होइन, समाधान दे, सुकुमबासीलाई सम्मान दे', 'जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन', 'शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर', 'होइ सरकार होइ, मेरो भोट खोइ ?' 'घर खोज्ने शासक चाहिँदैन, जनविरोधी निर्णय मान्दैन', 'भूमिको अधिकार जिन्दाबाद' जस्ता नारा लगाउँदै नागरिकको संवैधानिक अधिकारको रक्षा गर्न सरकारसँग माग गरे।

वैशाख यता सरकारले डोजर र प्रहरी प्रशासनसहितको टोली खटाएर काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा रहेका सुकुमबासी बस्तीहरू हटाउने अभियान थालेको थियो। काठमाडौं उपत्यकामा बस्तीबाट विस्थापित गरिएका सुकुमबासीहलाई काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा लगेर होल्डिङ सेन्टरमा राखिएको छ। 

जेठ १५, २०८३ शुक्रबार १५:१६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।