टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौं : गणतन्त्र दिवस २०८३ का अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको मुख्य आतिथ्यता तथा प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न समारोहमा राज्यका विशिष्ट पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र सर्वसाधारणको उत्साहजनक उपस्थिति थियो।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट विभिन्न आकर्षक कला कौशल, सैन्य प्रदर्शन तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो। समारोहमा सरिक भएका राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक विशेष टुकडीले सलामी अर्पण गरेको थियो।


टुँडिखेलको आकाशमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो भने राष्ट्रिय झण्डा फहराइएसँगै देशमा शान्ति र समृद्धिको कामना गर्दै आकाशमा रङ्गीचङ्गी परेवाहरू उडाइएको थियो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौं महानगर प्रहरी बलका जवानहरूले मार्चपास गरेको समारोहमा उनीहरूले विभिन्न शो, शारीरिक व्यायाम तथा कला कौशल समेत देखाएका थिए।

काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहहरूबाट सहभागी गराइएका, मुलुकको रैथाने कला र संस्कृति झल्काउने मौलिक सांस्कृतिक झाँकीहरू समेत समारोहमा प्रस्तुत गरिएको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए।

विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरे। यसअघिको गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेकोमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति नै गणतन्त्रको प्रतीक भएको भन्दै सम्बोधन गर्न आग्रह गरेपछि उनले गरेका हुन्।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले गणतन्त्रले सबै देशवासीलाई एकताको सूत्रमा बाँधेको र साझा राष्ट्र निर्माणको सङ्कल्पलाई अभिप्रेरित गरेको बताए।




जेठ १५, २०८३ शुक्रबार ११:२४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।