दिल्लीमा ४५ डिग्रीभन्दा माथि गयो तापक्रम, गरिब मजदुरलाई सुरक्षाभन्दा रोजीरोटीकै पिरलो
एजेन्सी : नयाँ दिल्लीको एउटा व्यस्त बजारमा दुई फरक संसारहरू सँगसँगै अस्तित्वमा छन्। एउटा संसार झिलिमिली बत्ती र एअर कन्डिसनर (एसी) जडित शोरुमहरू भित्र छ, जहाँ ग्राहकहरू गर्मीबाट बच्दै सहज रूपमा सामान हेरिरहेका छन्।
अर्को संसार भने बाहिर टन्टलापुर घाममुनि छ, जहाँ सडकका साना व्यापारी, फलफूल बिक्रेता, रिक्सा चालक र आइसक्रिम पसलेहरू ४५ डिग्री सेल्सियसभन्दा बढीको तातोमा निरन्तर काम गरिरहेका छन्।
दिल्लीमा दिउँसोको समयमा पैदल हिँड्न पनि निकै कडा श्रम गरेजस्तै महसुस हुन्छ। तर यहाँका लाखौं अनौपचारिक मजदुरहरूका लागि गर्मीबाट जोगिएर घरभित्रै बस्ने कुनै विकल्प छैन।
भारतको कुल श्रमशक्तिको झन्डै ९० प्रतिशत हिस्सा अनौपचारिक क्षेत्रमा कार्यरत छ, जसमा धेरैजसो सम्झौता वा रोजगारीको सुरक्षाबिना दैनिक ज्यालाका लागि बाहिरी घाममा काम गर्न बाध्य छन्।
‘काम रोके भोकै परिन्छ’
यस्तै मजदुरहरूमध्ये एक हुन्- ५२ वर्षीय हरिश चन्द्र। उनी दिल्लीको भिडभाडयुक्त सडकमा रिक्सा चलाउँछन् र गर्मी खप्न नसक्ने भएपछि सडकको सार्वजनिक धारामा अनुहार धोएर केही बेर छायाँमा सुस्ताउँछन्।
‘दिउँसोको घाम यति चर्को हुन्छ कि रिक्सा चलाउँदा चलाउँदै शरीरले कामै गर्दैन,’ उनी भन्छन्, ‘तर हामीले काम रोक्यौँ भने कमाइ हुँदैन र घरमा चुल्हो बल्दैन।’

त्यधिक गर्मीकै कारण उनले आफ्नी श्रीमती र तीन छोराछोरीलाई बिहारस्थित गाउँ पठाइदिएका छन्। गाउँमा पनि गर्मी भए तापनि खुला ठाउँ र राम्रो हावा चल्ने भएकाले दिल्लीको साँघुरो गल्लीभन्दा सहज हुने उनको अनुभव छ।
भारतमा सामान्यतया अप्रिलदेखि जुलाईको सुरुवातिसम्म गर्मीको मौसम रहन्छ, जुन मनसुन सुरू भएपछि मात्र शान्त हुन्छ। तर जलवायु वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङका कारण दक्षिण एसियामा गर्मीको लहर (लु) लामो, कडा र अनपेक्षित बन्दै गएको छ।
विश्व स्वास्थ्य संगठनकी पूर्व मुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनका अनुसार भारतमा अहिले रेकर्ड भइरहेको तापक्रम मानवीय सहनशीलताको सीमा नजिक पुगिसकेको छ, जसले मानिसको जीवन र जीविकोपार्जन दुवैमा खतरा पैदा गरेको छ।
मे महिनाको मध्यदेखि दिल्लीमा दिउँसोको तापक्रम ४० देखि ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको छ। कंक्रिट, अत्यधिक गाडी र हरियालीको कमीका कारण दिल्लीजस्ता सहरहरूमा गर्मी बढी थुप्रिने गर्दछ, जसलाई ‘अर्बन हिट आइल्यान्ड इफेक्ट’ भनिन्छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत मानिसहरूलाई पर्याप्त पानी पिउन र गर्मीबाट बच्न आग्रह गरिरहेका छन् भने दिल्ली सरकारले पनि तातो हावाबाट बच्ने कार्ययोजनाहरू सार्वजनिक गरेको छ। तर, दैनिक कमाउनुपर्ने वर्गका लागि यी आग्रहहरूको पालना गर्न व्यावहारिक रूपमा निकै कठिन छ।

५० वर्षीय अटो चालक मोहम्मद उमरले गत हप्ता अत्यधिक गर्मीका कारण काममा जान पाएनन्। ‘मेरो मुटुको धड्कन तीव्र भएको थियो र शरीरमा कुनै तागत थिएन’, उनले भने। तर काम छोड्दा दैनिक ५०० देखि ७०० भारु नोक्सान हुने र त्यो पैसा आफ्नो सानो बचतबाट खर्च गर्नुपर्ने बाध्यता उनीसँग छ।
गम्भीर आर्थिक र स्वास्थ्य संकट
अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदन अनुसार अत्यधिक गर्मीका कारण सन् २०३० सम्ममा भारतको कुल कार्यघन्टा ५.८ प्रतिशतले घट्न सक्छ, जसको सबैभन्दा ठुलो असर निर्माण र कृषि क्षेत्रका मजदुरहरूलाई पर्नेछ।
यस्तै, ल्यान्सेटको एक प्रतिवेदनले सन् २०२४ मा अत्यधिक गर्मीका कारण भारतले २४७ अर्ब कार्यघन्टा र १९४ अर्ब डलर बराबरको आर्थिक नोक्सानी बेहोरेको देखाएको छ।
फोर्टिस अस्पताल गुँडगाउँका आन्तरिक चिकित्सा विभागका प्रमुख डा. सतिश कौलका अनुसार लामो समय घाममा बस्दा डिहाइड्रेसन, न्यून रक्तचाप र मिर्गौलामा समस्या आउन सक्छ। चक्कर लाग्नु, कमजोरी हुनु, टाउको दुख्नु र वाकवाकी लाग्नु यसका सुरुवाती लक्षण हुन्, जसलाई मानिसहरूले प्रायः बेवास्ता गर्छन्।
मजदुरहरूका लागि काम सकिएपछि रातिको समयमा पनि गर्मीबाट राहत मिल्दैन।
धेरैजसो आप्रवासी मजदुरहरू बिजुली र हावा आउने राम्रो व्यवस्था नभएका, जस्तापाता र प्लास्टिकले छाएका साँघुरा कोठाहरूमा बस्छन्। यी घरहरूले दिउँसो तातो सोस्छन् र राति बिस्तारै बाहिर फाल्छन्, जसले गर्दा रातको समयमा पनि शरीर चिसो हुन पाउँदैन र थकान कम हुँदैन।

४० वर्षीया एकल महिला सञ्जिदा अरूको घरमा सरसफाइको काम गर्छिन्।
उनी भन्छिन्, ‘बिहानैदेखि घाम निकै चर्को हुन्छ। काम गर्दागर्दै लुगा भिजिसक्छ र कहिलेकाहीँ त तातो मार्बलमा काम गर्दा भुइँ आगो जस्तै तातेको हुन्छ। मालिकहरूले कहिलेकाहीँ पानी वा सर्वत त दिन्छन्, तर तापक्रम जतिसुकै भए पनि काम त गर्नैपर्छ।’
सञ्जिदा र हरिश चन्द्र जस्ता करोडौं मजदुरहरूका लागि गर्मी अब केवल एउटा मौसम मात्र रहेन, बरु यो हरेक वर्ष आउने जीवन बचाउने सङ्घर्ष बन्न पुगेको छ।
जेठ १५, २०८३ शुक्रबार ०९:४२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।