‘अपरेसन इकोनोमिक आउटकास्ट’: इरानसँगको तेल व्यापारका कारण चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध
एजेन्सी : इरानको तेल र पेट्रोकेमिकल उत्पादन व्यापारमा संलग्न रहेको भन्दै अमेरिकाले चारवटा भारतीय कम्पनी र तीन जना भारतीय नागरिकमाथि प्रतिबन्धको घोषणा गरेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोत पूर्ण रूपमा बन्द गराउने उद्देश्यका साथ ‘अपरेसन इकोनोमिक आउटकास्ट' घोषणा गरेकै भोलिपल्ट अमेरिकी ट्रेजरी र विदेश मन्त्रालयले यो कारबाही अघि बढाएका हुन्।
अमेरिकी ट्रेजरी विभागले इरानको अर्थतन्त्रलाई लक्षित गर्दै घोषणा गरेको नयाँ प्रतिबन्धमा इरानबाट पेट्रोलियम तथा पेट्रोकेमिकल उत्पादन भारत आयात गर्न सहयोग गरेको आरोपमा भारतमा आधारित कम्पनी र भारतीय नागरिकलाई समेटिएको अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
प्रतिबन्धमा परेका भारतमा आधारित कम्पनीमध्ये पोर्टिज पार्टनर्स एलएलपी र यसका साझेदार इन्द्रिस्मिया अशरफमिया ख तथा हरिश रामचन्द्र रंगी छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार पोर्टिज पार्टनर्सले इरानबाट भारतमा पेट्रोकेमिकल उत्पादनका भारत आयात गर्न सहजीकरण गरेको थियो।
त्यसैगरी सदाशिवा ओभरसिज लिमिटेड, पीपी सफ्टटेक प्राइभेट लिमिटेड र प्रकृतीज इन्फ्रा इम्पेक्स प्राइभेट लिमिटेड पनि प्रतिबन्धमा परेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सदाशिवा ओभरसिजले सन् २०२४ फेब्रुअरीदेखि २०२५ जुनसम्म करिब ६ करोड ९० लाख अमेरिकी डलर बराबरका इरानी पेट्रोलियम उत्पादन विभिन्न कम्पनीबाट आयात गरेको थियो। ती कम्पनीमध्ये अमेरिकाले यसअघि नै प्रतिबन्ध लगाएको 'बोन्जुर कमोडिटी एफजेडई' पनि रहेको अमेरिकी पक्षले जनाएको छ।
त्यस्तै, पीपी सफ्टटेकले सन् २०२४ जनवरीदेखि २०२५ जुनसम्म करिब २ करोड ५० लाख डलर बराबरका इरानी पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। कम्पनीका निर्देशक प्रशान्त गर्गलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ।
प्रकृतीज इन्फ्रा इम्पेक्सले सन् २०२३ मेदेखि २०२६ फेब्रुअरीसम्म करिब २ करोड ५० लाख डलर बराबरका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी पक्षको आरोप छ। उसले पनि अमेरिकाले प्रतिबन्ध लगाइसकेको बोन्जुर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट ती उत्पादन आयात गरेको बताइएको छ।
अमेरिकाले यी कम्पनीहरूलाई 'इरानबाट पेट्रोकेमिकल उत्पादनको खरिद, बिक्री, ओसारपसार वा बजारीकरणमा ‘जानाजानी महत्वपूर्ण कारोबार’ गरेको आरोपमा प्रतिबन्ध लगाइएको हो।
"अमेरिकी सेना र क्षेत्रीय साझेदारहरूमाथि आक्रमण गर्ने इरानी सैन्य अधिकारीहरू, अमेरिकी फौजको जासुसी गर्ने इरानस्थित संस्थाहरू र हतियार तथा मिसाइल कार्यक्रममा आपूर्ति पुर्याउने सञ्जाललाई लक्षित गरी यो व्यापक कारबाही गरिएको हो," अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता थोमस पिगोटले विदेश मन्त्रालयको तर्फबाट जारी वक्तव्यमा भनेका छन्।
विदेश मन्त्रालयले इरानी शासनको अस्थिर गतिविधिलाई सघाउने धेरै व्यक्ति, संस्था र जलपोतहरूमाथि कडा कदम चालिएको स्पष्ट पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनदेखि इरानमाथि आर्थिक दबाबलाई प्रमुख हतियारका रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका छन्। वासिङ्टनले इरानलाई आर्थिक स्रोतबाट अलग गर्ने र इरानी सरकारलाई आफ्नो खर्च तथा गतिविधिका लागि रकम जुटाउन कठिन बनाउने रणनीति लिएको छ।
यसैबीच, इरानभित्र आर्थिक संकट गहिरिँदै गएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले देशले चरम आर्थिक संकटको जोखिम सामना गरिरहेको स्वीकार्दै इरान बलियो स्थितिमा छँदै युद्ध अन्त्य गर्नुपर्ने अभिव्यक्ति दिएका छन्।
भदौ ९, २०८३ मंगलबार १७:५३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।