कांग्रेसको नीति प्रतिष्ठानले गठन गर्यो सात उपसमिति
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सातवटा विषयगत उपसमिति गठन गरेको छ।
बुधबार सम्पन्न प्रतिष्ठानको तेस्रो बैठकले पार्टीको नीतिगत गृहकार्य र अनुसन्धानलाई व्यवस्थित बनाउन संयोजकहरू तोक्दै उपसमितिहरू गठन गरेको हो।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले समसामयिक र प्राविधिक महत्त्वका क्षेत्र पहिचान गरी जिम्मेवारी बाँडफाँट गरेको छ। बैठकमा पार्टी सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
बैठकको निर्णयअनुसार नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोख्रेल चयन भएका छन्। त्यस्तै, जलवायु परिवर्तन सचेतना उपसमितिको नेतृत्व रोशनी गिरीलाई दिइएको छ।
युवा वर्ग र अन्तरपुस्ता समन्वयका लागि नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद एवं समन्वय उपसमिति गठन गरिएको छ, जसको संयोजकमा मीनबहादुर भाम रहेका छन्। अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्यायसम्बन्धी उपसमितिको जिम्मेवारी महेन्द्र यादवले पाएका छन्।
यसैगरी, बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल र गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमिति'को संयोजकमा अञ्जु झा चयन भएका छन्।
जेठ १४, २०८३ बिहीबार १४:२५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।