गर्मी छल्न तिनाउ पुग्ने युवाको लर्को : लोभ्याउने चिसो पानी, निल्ने गहिरो खोँच
बुटवल : मध्य जेठको टन्टलापुर घाम र सडकबाट निस्कने उखरमाउलो रापले तराई आकुलव्याकुल छ। दिउँसोको राप र तातो हावा (लू) बाट बच्न मानिसहरू शीतलताको खोजीमा छन्।
यही प्रचण्ड गर्मीबाट केही समयका लागि भए पनि मुक्ति पाउन बुटवल आसपासका युवायुवतीका लागि एउटा मुख्य प्राकृतिक गन्तव्य बनेको छ- पाल्पाको माडीबाट बग्दै आउने तिनाउ नदी।
पहाडी खोँच र छहराहरू छिचोल्दै बग्ने तिनाउको चिसो पानीले गर्मी छल्न आउनेलाई लोभ्याउने गरे पनि यसको भित्री बहाव र गहिराइ भने उत्तिकै घातक साबित भइरहेको छ।
अहिले तिनाउ नदीका विभिन्न घाट, खोँच र छाँगाहरूमा पौडी खेल्नेहरूको भीड लागेको छ। सार्वजनिक बिदाका दिन मात्र होइन, अन्य दिनमा पनि विद्यालय, कलेज र कार्यालयको समय सकिएपछि यहाँ युवायुवतीको जमघट देखिन्छ।
तल्लो तथा माथिल्लो सिद्धबाबा क्षेत्र, हेडबक्स, चिडियाखोला र ड्याम साइड क्षेत्र पौडी खेल्ने, फोटो खिच्ने र टिकटक बनाउनेहरूको मुख्य आकर्षण बनेका छन्।

यहाँ बुटवलका मात्र नभई छिमेकी जिल्लाहरू कपिलवस्तु, नवलपरासी र सीमावर्ती भारतीय सहरहरू सुनौली, नौतनवा तथा गोरखपुरसम्मका युवाहरू गर्मी छल्न आउने गरेका छन्।
तर, बाहिरबाट देखिने सुन्दरताभित्र डरलाग्दो यथार्थ लुकेको छ। बुटवल पावर कम्पनीको करिब ३० फिट गहिरो बाँधस्थल (ड्याम साइट) र जङ्गलको बीचमा अवस्थित भूतखोलाको प्राकृतिक दहको गहिराइबारे अनभिज्ञ रहँदा वर्षेनी धेरैले अकालमा ज्यान गुमाउने गरेका छन्।
यसैको पछिल्लो उदाहरण हुन्- भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढका २२ वर्षीय सौरभ रस्तोगी।

गत हप्ता साथीहरूसँग बुटवल घुम्न आएका रस्तोगी गर्मी छल्न भन्दै पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याम साइडमा पौडी खेल्न गएका थिए। तर, सोही क्रममा बेलुका साढे ६ बजेतिर उनी पानीमा डुबेर बेपत्ता भए।
घटनाको जानकारी पाउनासाथ दोभान प्रहरी चौकीको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी गर्दा दुई दिनपछि घटनास्थल भन्दा करिब ५० मिटर तल उनको शव फेला पर्यो।
तिनाउको चिसो पानीमा डुबुल्की मारेर गर्मी बिर्सने उनको चाहना अन्ततः सदाका लागि विलीन भयो। रस्तोगी त केवल एउटा प्रतिनिधि पात्र मात्र हुन्, तिनाउको यो गहिराइले हरेक वर्ष यस्ता कैयौँ सुनौला सपनाहरू निलिरहेको छ।
‘डेथ जोन’ बन्दै तिनाउको ड्याम साइड
पानीको गहिराइ, भित्री बहाव र अप्रत्याशित खोँचहरूको प्राविधिक ज्ञान नहुँदा र पौडीको राम्रो सीप विना नै पानीमा हामफाल्दा वर्षेनी दर्जनौंले ज्यान गुमाइरहेका छन्। जसका कारण यी क्षेत्रहरू क्रमशः ‘डेथ जोन’ मा परिणत हुँदै गएका छन्।
जिल्ला प्रहरी कार्यालय, पाल्पाको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा ड्याम साइड र भूतखोलामा मात्र डुबेर ३५ जनाले ज्यान गुमाएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा ड्याम साइडमा ४ र भूतखोलामा ३ गरी ७ जना, आर्थिक वर्ष २०७९/८० मा ड्याम साइडमा ८ र भूतखोलामा २ गरी १० जना, आर्थिक वर्ष २०८०/८१ मा ड्याम साइडमा ६ र भूतखोलामा १ गरी ७ जना तथा आर्थिक वर्ष २०८१/८२: ड्याम साइडमा ७ जनाले ज्यान गुमाइसकेका छन्।
यो भयावह स्थितिपछि प्रहरीले आर्थिक वर्ष २०८१/८२ देखि भूतखोलामा पौडी खेल्न पूर्ण प्रतिबन्ध लगाएको छ। यद्यपि, ड्याम साइडमा भने दुर्घटना रोकिएको छैन। चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र ड्याम साइडमा डुबेर ४ जनाको मृत्यु भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई भन्छन्, ‘तथ्याङ्क हेर्दा ड्याम साइडमा मृत्यु हुने क्रम रोकिएको छैन। यसका लागि सचेतनाका कार्यक्रमहरू पनि भएका छन्, तर व्यक्ति स्वयंले सावधानी नअपनाउँदा यस्ता दुःखद घटना भइरहेका छन्।’
दुर्घटना न्यूनीकरणका लागि स्थानीय प्रशासन र स्थानीय तहले ड्याम साइट र भूतखोला वरपर चेतावनीमूलक बोर्डहरू राख्नुका साथै तारजाली लगाएर निषेधित क्षेत्र घोषणा गरेका छन्।
तर, यी प्रयासहरू प्रभावकारी हुन सकेका छैनन्। युवायुवतीहरू सुरक्षाका लागि लगाइएको तारजाली नाघेर वा लुकिछिपी वैकल्पिक बाटो प्रयोग गर्दै जोखिमपूर्ण स्थानमै पुग्ने गरेका छन्।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ खोलाको भूगोल खुला र ठूलो भएकाले निरन्तर निगरानी राख्न कठिन भएको स्वीकार गर्छन्।
‘हामीले सचेतनाका बोर्डहरू राखेका छौँ, जोखिमयुक्त ठाउँमा तारजाली पनि लगाएका हौँ। तर, यहाँ आउनेहरूले यसको बेवास्ता गर्दा अकालमै ज्यान गुमाउने क्रम रोक्न सकिएको छैन’, उनले भने।
जेठ १४, २०८३ बिहीबार ११:३४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।