भरतपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु
चितवन : चितवनको भरतपुर महानगरपालिका-९ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान एउटा विद्युतीय कार (इभी) मा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
शरीर पूर्ण रूपमा जलेका कारण मृतकको पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा.प्र. ०१-०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।
घटनास्थलमा पुगेको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
यद्यपि, आगो ठूलो भएकाले कार पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ। कारमा कसरी आगो लाग्यो भन्ने यकिन कारण खुल्न सकेको छैन।
घटनाको विस्तृत विवरण र मृतकको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
भदौ २६, २०८३ शुक्रबार ०९:१३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।