१६ दिनपछि कुशको शवमा अस्तायो एउटा सिङ्गो परिवार

१६ दिनपछि कुशको शवमा अस्तायो एउटा सिङ्गो परिवार

बागलुङ : विगत १६ दिनदेखि वृद्ध बाबु-आमाका आँखा बाटोमै अडिएका थिए।

मनमा एउटै झिनो आशा जीवितै थियो- कतैबाट नदी किनारमै भए पनि छोरा-बुहारी सकुशल भेटिएको खबर आओस्, कलिला नाति-नातिनाको तोतेबोली फेरि सुन्न पाइयोस्।

तर, उर्लिएको नदीले न त जिउँदो मान्छे फर्कायो, न अङ्गालो हालेर डाँको छोड्न निर्जीव शरीर नै दियो। अन्ततः १६औं दिनमा आशाहरू निराशामा बदलिए र तित्याङ गाउँको त्यो आँगनमा सन्नाटा छायो।

बागलुङ नगरपालिका-९ तित्याङका पौडेल परिवारले आफ्ना चार जना प्रियजनको भौतिक शरीरबिना नै बिहीबार अन्तिम बिदाइ गर्यो- कुशको शव बनाएर।

त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल र उहाँकी ३१ वर्षीया पत्नी (इन्जिनियर) प्रमिला पाठक सुन्दर भविष्यको सपना बोकेर सन्तानसहित कार्यक्षेत्रमा खटिएका थिए।

उनीहरूसँगै थिए- चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति। तर, बाढीको लेदो र नदीको गर्जनले ती सबै सपना र मुस्कानहरू एकै चिहान बनाइदियो।

परिवारका एक्ला छोरा राजेश र उहाँको सिङ्गो परिवार नै बाढीमा बेपत्ता भएपछि आफन्तहरूले लामो समयसम्म खोजी गरे।

जब नदी किनारमा ढुङ्गा, बालुवा र भग्नावशेषबाहेक केही भेटिएन, तब हिन्दू परम्पराअनुसार कुशको शव बनाएर दागबत्ती दिन परिवार बाध्य भयो।

जीवित भेटिने आशा त मर्यो नै, कम्तीमा दागबत्ती दिन शवसम्म भेटियोस् भन्ने परिवारको अन्तिम चाहना पनि नदीमै बगेर गयो।

“उहाँ परिवारको एउटा मात्र छोरो हुनुहुन्थ्यो,” भावविह्वल हुँदै आफन्त विष्णु शर्माले भने, “आज एउटा मात्र मान्छे होइन, सिङ्गो परिवारकै नामनिसान मेटियो। कुशको शरीरलाई हेरेर चित्त बुझाउनुबाहेक हाम्रो हातमा केही रहेन।”

यो पीडा तित्याङको एउटा घरमा मात्र सीमित छैन; बाढीको यो वितण्डाले बागलुङका थुप्रै गाउँका चुलो निभाइदिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जलविद्युत् आयोजनामा काम गर्न गएका बागलुङका १६ जना नागरिक अझै बाढीपछि बेपत्ता छन्।

जसमा तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र बागलुङ नगरपालिकाका चार जना रहेका छन्।

उज्यालो बाँड्न जलविद्युत् आयोजनाको सुरुङ र बाँधमा पसिना बगाइरहेका ती युवाहरू अहिले नदीको गहिराइमा कतै हराएका छन्। घरहरूमा रुवाबासी छ, गाउँ शोकमग्न छ।

राससको समाचार सम्पादनसहित प्रकाशित गरिएको

भदौ २६, २०८३ शुक्रबार ०७:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।