धादिङमा घरमा रङ लगाउने क्रममा लडेर एक युवकको मृत्यु
धादिङ : धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा घरमा रङ लगाउने क्रममा छतबाट खसेर एक युवकको मृत्यु भएको छ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं. १ सातटारीस्थित रामप्यारी अधिकारीको दुईतले घरको माथिल्लो तलामा रङ लगाउने क्रममा ३२ वर्षीय सुवास तामाङको लडेर मृत्यु भएको हो।
काभ्रे घर भई हाल ललितपुरको सातदोबाटोमा डेरा गरी बस्ने तामाङ जेठ १३ गते बिहान ९:२० बजे रङ लगाउने क्रममा अचानक सन्तुलन गुमी ढलान गरिएको आँगनमा खसेका थिए।
गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले खबर गरेलगत्तै घटनास्थलबाट करिब ५०० मिटर उत्तर-पश्चिममा रहेको अस्थायी प्रहरी पोष्ट किन्ताङफेदीबाट प्रहरी हवल्दार सुरेश बोटको नेतृत्वमा टोली पुगेर घटनास्थल सुरक्षित राखेको थियो।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय टोली खटिएको थियो।
साथै प्रहरी चौकी मार्पाकबाट पनि प्रहरी हवल्दार राजु धितालको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार पारेपछि मृतकको शवलाई पोस्टमार्टम (शव परीक्षण) का लागि राति ८:५० बजे धादिङ जिल्ला अस्पताल पुर्याइएको छ।
जेठ १४, २०८३ बिहीबार ११:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।