मौसम पूर्वानुमान : पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
काठमाडौं : नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै देशको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसैको प्रभावका कारण बुधबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हावाहुरीसहित हल्का वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली हुनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा समेत वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा भने आज अत्यधिक गर्मी हुने र तातो हावा चल्ने सम्भावना छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यसैगरी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका साथै बाँकी तराई क्षेत्रका केही स्थानहरूमा हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
जेठ १४, २०८३ बिहीबार ०७:१७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।