रास्वपा सभापतिदेखि सांसदहरूको डफ्फै जेनजी आन्दोलनको छानबिनमा तानिए

रास्वपा सभापतिदेखि सांसदहरूको डफ्फै जेनजी आन्दोलनको छानबिनमा तानिए

काठमाडौं : भदौ २३ र २४ को जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि सांसदहरू अनुसन्धानको दायरामा तानिएका छन्। आयोगले बुधवार सार्वजनिक गरेको प्रतिवेदनको सारांशमा पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागार तोडेर बाहिर निस्किएकोमा जघन्य अपराधमा संलग्न रहेको ठहर गरेको छ।

उनी कारागारबाट बाहिर निस्किएपछि नै देशभरका कारागारबाट करिब १४ हजार कैदी र बन्दी बाहिर निस्किएका थिए। रवि नख्खुबाट निस्किएपछि हामी चैं किन निस्कन नपाउने भनेर अन्य कारागारमा रहेका कैदी बन्दी निस्किएको भन्दै आयोगले यो घटनामा रास्वपाका अन्य सांसदहरू समेत संलग्न रहेको ठहर्याएको छ। नख्खु जेल ब्रेकका मुख्य सहयोगीमा रास्वपा सांसद मनिष झा र हरि ढकाल देखिएका छन्।

भदौ २४ मा हिंसात्मक घटना बढेपछि एक समूह नख्खु कारागार अगाडि गएर रविलाई बाहिर निकाल्न दबाब बढाएका थिए। त्यसमा वर्तमान सभामुख डिपी अर्याल पनि देखिएका थिए। तर आयोगको प्रतिवेदनमा उनको नाम छैन। जेल ब्रेकको घटनामा अर्की सांसद ज्वाला सङ्ग्रौलाको भूमिका समेत देखिएको थियो। तर जेल ब्रेक प्रकरणमा उनी पनि अनुसन्धानमा तानिएकी छैनन्। तर आन्दोलन उग्र बनाउन भूमिका खेलेकोमा भने छानबिनको सिफारिसमा परेकी छिन्।

प्रतिवेदनमा नख्खु जेल ब्रेकमा कारागार प्रशासन सत्यराज जोशीमाथि समेत छानबिन गर्न सिफारिस गरेको छ।

सांसदको डफ्फै छानबिनमा

आयोगले बुधवार सार्वजनिक गरेको २९ पेजको संक्षेप प्रतिवेदनमा जेनजी आन्दोलनलाई उत्तेजक बनाएको भन्दै रास्वपाका सांसदहरूको समूह नै छानबिनको सिफारिसमा परेका छन्। त्यसमा सबैभन्दा गम्भीर आरोप जेनजी आन्दोलनको अगुवाको रूपमा उदाएका र निर्वाचनपछि सबैलाई सरप्राइजदिँदै गृहमन्त्री बनेका सुधन गुरुङमाथि लागेको छ।

भदौ २३ को जेनजी आन्दोलन हिंसात्मक बनाउनुमा रास्वपा सांसद तथा पूर्व गृहमन्त्री गुरुङको भूमिका देखिएको भन्दै मानव अधिकारमा दोषी र हिंसात्मक गतिविधिमा छानबिन गर्न सिफारिस गरिएको छ। जेनजी आन्दोलनताका गुरुङ हामी नेपालको अध्यक्षको रूपमा सहभागी थिए। फागुन २१ को निर्वाचन अगाडि मात्र उनी रास्वपाबाट सांसदको उम्मेदवार बनेका थिए।

आन्दोलनकारीलाई उक्साउन भूमिका खेलेको भन्दै रास्वपाका सांसद पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल,  बब्लु गुप्ता,  कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, ज्वाला सङ्ग्रौलाको भूमिकाबारे छानबिन गर्न सिफारिस गरेको छ। रास्वपा सांसद आशिका तामाङसमेत छानबिनको दायरामा परेकी छिन्।  

सम्बन्धित समाचार

जेठ १३, २०८३ बुधबार १८:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।