विवाह अस्वीकार वा प्रेम सम्बन्धको विवाद ‘आत्महत्या दुरुत्साहन’ नहुने सर्वोच्चको व्याख्या
काठमाडौं : प्रेम सम्बन्धमा खटपट हुनु, विवाह गर्न अस्वीकार गर्नु वा सामान्य विवाद हुनुलाई मात्र ‘आत्महत्या दुरुत्साहन’को कसूर मान्न नसकिने व्याख्या गर्दै सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसला उल्ट्याएको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले कैलालीकी २२ वर्षीया सञ्चारकर्मी निर्मला पहराईको मृत्यु प्रकरणमा जोडिएका प्रतिवादीद्वय ललित जागरी र रिया भन्ने धना साउदलाई सफाइ दिने सुरु कैलाली जिल्ला अदालतको फैसला सदर गरेको हो।
यससँगै उच्च अदालत दिपायलले उनीहरूलाई दोषी ठहर गर्दै सुनाएको सजाय बदर भएको छ।
के थियो घटना?
रेडियो कैलालीमा समाचार वाचिकाका रूपमा कार्यरत निर्मला पहराई र प्रतिवादी ललित जागरीबीच करिब ६-७ वर्षदेखि प्रेम सम्बन्ध थियो। यसैबीच ललितको अर्की प्रतिवादी रिया भन्ने धना साउदसँग पनि प्रेम सम्बन्ध सुरू भयो। विवाहको विषयलाई लिएर उनीहरूबीच विवाद बढेको थियो।
२०७७ साल भदौ ३१ गते निर्मला र ललितबीच कुराकानी गर्ने तय भएपछि उनीहरू डोके बजार नजिकैको जंगलमा भेट्न गएका थिए।
सोही दिन निर्मला जंगलको रुखमा आफ्नो सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। निर्मलाका दाजु विशाल पहराईले ललित र रियाविरुद्ध ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मा जाहेरी दिएका थिए।
सुरुमा कैलाली जिल्ला अदालतले २०७८ साउन २६ गते प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिएको थियो। तर, उक्त फैसला चित्त नबुझाई परेको पुनरावेदनमा उच्च अदालत दिपायलले २०८० वैशाख २१ गते जिल्लाको फैसला उल्ट्याएको थियो।
उच्च अदालतले ललित जागरीलाई ३ वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना तथा रिया साउदलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। साथै पीडित परिवारलाई क्षतिपूर्ति भराउने आदेश समेत दिएको थियो। उक्त फैसलाविरुद्ध प्रतिवादीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए।
सर्वोच्चको ठहर र कानुनी व्याख्या
सर्वोच्च अदालतले मिसिल संलग्न प्रमाण, शव परीक्षण (पोष्टमार्टम) प्रतिवेदन र प्रहरी अनुसन्धानको विश्लेषण गर्दै महत्त्वपूर्ण कानुनी सिद्धान्तहरू व्याख्या गरेको छ।
पोष्टमार्टम प्रतिवेदनमा मृत्युको कारण ‘झुण्डिएर सास अवरुद्ध भएको’ उल्लेख भएको र शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा यो घटना हत्या नभई आत्महत्या नै भएको पुष्टि हुने सर्वोच्चको व्याख्या छ।
यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ मा रहेको आत्महत्या दुरुत्साहनको व्याख्या गर्दै सर्वोच्चले भनेको छ- ‘दुरुत्साहन हुनका लागि प्रतिवादीहरूको कार्यबाट मृतकलाई आत्महत्या गर्न बाध्य पार्ने प्रत्यक्ष वा परोक्ष उत्तेजना, उक्साहट वा चरम उत्पीडन भएको अकाट्य प्रमाण हुनुपर्छ।’
फैसलामा थप भनिएको छ, ‘विवाह गर्न अस्वीकार गर्नु, प्रेम सम्बन्धमा असमझदारी उत्पन्न हुनु वा फेसबुक मेसेन्जरमा सामान्य विवाद हुनुलाई मात्र आत्महत्याको दुरुत्साहन मान्न मिल्दैन।’

यसका अलावा फैसलामा भनिएको छ, ‘लामो समयदेखि प्रेम सम्बन्ध् रहेको र सोही क्रममा शारीरिक सम्पर्क समेत भएको देखिए तापनि तत्काल विवाह गर्न इन्कार गर्नुलाई कानुनको दृष्टिमा ‘मर्नका लागि बाध्य पारेको’ अर्थमा बुझ्न मिल्ने देखिएन।’
एउटी युवतीले निराशा वा आवेगमा आएर आत्महत्या गर्ने कठोर निर्णय लिनु दुःखद भए पनि प्रतिवादीहरूको ‘अपराधिक मनसाय’ र ‘आपराधिक कार्य’ प्रमाणित नभएसम्म कसैलाई दोषी करार गर्न नमिल्ने अदालतको ठहर छ।
सर्वोच्चले भारतीय दण्ड संहिताको दफा ३०६ र भारतीय सर्वोच्च अदालतबाट प्रतिपादित विभिन्न नजिरहरूलाई सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गर्दै उक्साहटको प्रत्यक्ष र गम्भीर कडी विना दुरुत्साहनको कसूर स्थापित हुन नसक्ने स्पष्ट पारेको छ।
सर्वोच्च अदालतले प्रतिवादीहरू ललित जागरी र रिया भन्ने धना साउदलाई सफाइ दिने कैलाली जिल्ला अदालतको सुरु फैसला नै कानुन र न्यायसंगत भएको ठहर गर्दै उच्च अदालत दिपायलको फैसला उल्ट्याइदिएको छ।
२०८२ मंसिर २९ गते भएको फैसलाको केही समयअघि पूर्णपाठ आएको हो।
जेठ १३, २०८३ बुधबार १४:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।