आर्थिक सर्वेक्षण २०८२/८३ : नेपालको अर्थतन्त्र ६६ खर्ब ९ करोडको पुग्यो, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्।
सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन-जीडीपी) उपभोक्ता मूल्यमा ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षको ४.४३ प्रतिशतको तुलनामा केही न्यून हो।
सार्वजनिक आर्थिक विवरण अनुसार बाह्य क्षेत्रका सूचकहरू ऐतिहासिक रूपमा बलियो देखिए पनि आन्तरिक उत्पादन, सरकारी वित्त र कर्जा प्रवाहमा भने मिश्रित अवस्था छ।
आर्थिक सर्वेक्षण अनुसार नेपालको अर्थतन्त्रमा प्रदेशगत रूपमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको र सबैभन्दा कम कर्णाली प्रदेशको रहेको छ। जीडीपीमा बागमती प्रदेशले ३६.७ प्रतिशत योगदान गरेको छ भने कर्णाली प्रदेशको योगदान केवल ४.२ प्रतिशतमा सीमित छ।
नेपाली अर्थतन्त्रमा उपभोगको हिस्सा अत्यधिक रहने देखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.३ प्रतिशत पुग्ने अनुमान छ।
उत्पादन संरचनाको कुरा गर्दा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४.० प्रतिशत र गैर-कृषि क्षेत्रले ७६.० प्रतिशत योगदान गर्ने देखिएको छ। क्षेत्रगत रूपमा प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत, द्वितीयक क्षेत्रको १३.७३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१.८१ प्रतिशत रहने सर्वेक्षणले देखाएको छ।
चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
प्रादेशिक रूपमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ डलर र मधेश प्रदेशको सबैभन्दा कम ९ सय ३४ डलर रहने प्रतिवेदनमा उल्लेख छ। अर्थमन्त्री डा. वाग्लेका अनुसार यस वर्ष नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि रहने जोखिम रहेको छ।
आन्तरिक सूचकहरू सुस्त रहे पनि नेपालको बाह्य आर्थिक क्षेत्र भने अत्यन्त मजबुत अवस्थामा छ। फागुनसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। जसका कारण शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब रुपैयाँ र चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा छ।
विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दु ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। यस्तै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरेबापत नेपालले कार्बन व्यापारबाट पहिलो पटक करिब ३ करोड ६० लाख अमेरिकी डलर (फागुनसम्म) राजस्व प्राप्त गर्न सफल भएको छ।
सरकारी वित्त प्रणालीमा ऋणको दायित्व थपिँदै गएको छ। २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो। यस ऋणमा आन्तरिक ऋणको हिस्सा ४६.८ प्रतिशत र बाह्य ऋणको हिस्सा ५३.२ प्रतिशत रहेको छ। संघीय सरकारको वित्त सन्तुलन (बजेट घाटा) ५८ अर्ब १ करोड रुपैयाँ ऋणात्मक छ।
बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता रहे पनि निजी क्षेत्रतर्फको कर्जा प्रवाह ४.४ प्रतिशतले मात्र बढेको छ। यस्तै, फागुनसम्म कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने बैंकहरूको निष्क्रिय कर्जाको औसत अनुपात ५.४२ प्रतिशत पुगेको छ।
आर्थिक सूचकहरूका बीच पर्यटन र ऊर्जा क्षेत्रमा सकारात्मक सुधार देखिएको छ। सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिएका छन् भने उनीहरूको औसत बसाइ १६.३४ दिन र प्रतिपर्यटन प्रतिदिन औसत खर्च ३३.०८ डलर पुगेको छ।
जलविद्युत् क्षेत्रमा देशको ९९ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत् पहुँच पुगेको छ र कुल जडित क्षमता ४,१०५ मेगावाट (जलविद्युत् ३,७९८ मेगावाट) पुगेको छ। चालु वर्षमा भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत् निर्यात गरिएको छ।
अन्तर्राष्ट्रिय साख मूल्याङ्कनमा नेपालले पहिलो पटक "BB-" (आउटलुक स्टेबल) रेटिङ प्राप्त गरेको छ, जसले वैदेशिक लगानीका लागि सकारात्मक वातावरण बनेको सङ्केत गर्दछ।
विवरण अनुसार सामाजिक सूचकहरूमा पनि सुधार भइरहेको छ। निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ।
नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ भने युवा साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ। यद्यपि, आधारभूत खानेपानीको पहुँच ९७.० प्रतिशत जनसंख्यामा पुगे पनि सुरक्षित खानेपानीको पहुँच भने अझै २९.० प्रतिशतमा मात्र सीमित रहेको सर्वेक्षणले औंल्याएको छ।
जेठ १३, २०८३ बुधबार १४:१०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।