‘कि प्रधानमन्त्री ल्याइयोस् कि मलाई सदनबाट निकालियोस्’ भन्दै हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै बैठक बहिष्कार गरेका छन्।
प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सांसद साम्पाङले प्लाकार्ड प्रदर्शन गर्दै र उभिएर विरोध जनाएका थिए। सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि उनले संसद्मा आफ्नो धारणा राखेका थिए।
आफ्नो भनाइ राख्ने क्रममा साम्पाङले संसद्मा प्रधानमन्त्रीको जवाफ निरन्तर खोजिरहेको उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए।
उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले संसद्मा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था रहे पनि त्यसको पालना नभएको आरोप लगाए।
सांसद साम्पाङले सभामुखलाई सम्बोधन गर्दै भने, ‘यहाँले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को १ लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु।’
उनले प्रधानमन्त्री उपस्थित हुनुपर्ने, अन्यथा नियमावली अनुसार बरु आफूलाई नै संसद् बैठकबाट निकाल्नुपर्ने माग राखेका थिए।
सभामुख अर्यालले हिजो पनि यस विषयमा छलफल भएको जानकारी गराएका थिए। केहीबेर सवालजवाफ भएपछि सांसद साम्पाङ बैठक कक्षबाट बाहिरिएका थिए।
जेठ १३, २०८३ बुधबार ११:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।