प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराउन माग गर्दै हर्क राईद्वारा बैठक बहिष्कार
काठमाडौं : श्रम संस्कृति पार्टीका संसदीय दलका नेता एवं अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गर्दै संसद् बैठक बहिष्कार गरेका छन्।
बैठकको सुरुवातमै विशेष समय लिएर बोल्दै सांसद राईले प्रधानमन्त्री शाहलाई बैठकमा उपस्थित गराउन सभामुखबाट 'रुलिङ' हुनुपर्ने माग दोहोर्याए।
उनले सभामुखले प्रधानमन्त्री ल्याउन नसके आफूलाई बैठकबाट निकाल्न माग गरे।
सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे। त्यसपछि सांसद राईले बस्न नमानेर बैठक बहिष्कार गरे।
सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।
संसद् सचिवालयका अनुसार बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नछन्।
जेठ १३, २०८३ बुधबार ११:४८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।