प्रतिनिधि सभा बैठक : अर्थमन्त्रीले आर्थिक सर्वेक्षण र सञ्चारमन्त्रीले चलचित्र विधेयक पेश गर्ने

प्रतिनिधि सभा बैठक : अर्थमन्त्रीले आर्थिक सर्वेक्षण र सञ्चारमन्त्रीले चलचित्र विधेयक पेश गर्ने

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ११औं बैठक आगामी २०८३ जेठ १३ गते बुधबार ११ बजे बस्ने भएको छ।

संसद् सचिवालयले उक्त बैठकका लागि दैनिक कार्यसूची सार्वजनिक गरेको छ, जसमा आर्थिक सर्वेक्षण पेस गर्नेदेखि विभिन्न विधेयक र नियमावलीमाथिको छलफल मुख्य एजेन्डा रहेका छन्।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय गरिएको छ।

बजेट प्रस्तुत गर्नुअघि संसद्‌मा आर्थिक सर्वेक्षण पेस गर्ने संवैधानिक परम्परा अनुसार यो प्रस्ताव कार्यसूचीमा राखिएको हो।

यस्तै  बैठकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ टेबुल गरिनेछ।

यसैगरी, सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसका अलावा बैठकको व्यवस्थापकीय कार्यअन्तर्गत प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त प्रतिवेदनमाथि प्राप्त भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि सभापति पराजुलीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

जेठ १३, २०८३ बुधबार १०:४३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।