फेसबुकमा चिनजानपछि श्रीमानलाई समेत मार्ने धम्की दिएर बलात्कार, १० वर्ष कैद सजायको माग
विराटनगर : फेसबुकमार्फत चिनजान गरी ३० वर्षीया विवाहित महिलालाई डरत्रास देखाएर बलात्कार गरेको अभियोगमा मोरङ जिल्ला अदालतमा एक युवकविरुद्ध मुद्दा दायर गरिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ९ हाटखोला घर भई हाल मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ गौशाला टोल बस्ने ३० वर्षीय प्रज्वल खड्का (भन्ने बादल कार्की) विरुद्ध अदालतमा अभियोग-पत्र दायर भएको हो।
सरकारी वकिल कार्यालय मोरङले दायर गरेको मुद्दामा प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम कैद, जरिवाना र क्षतिपूर्तिको मागदाबी गरिएको छ।
फेसबुकबाट सुरू भएको सम्बन्ध
जाहेरी व्यहोरा अनुसार, पीडित महिलासँग प्रज्वल खड्काको करिब दुई वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो। सामाजिक सञ्जालमा साथी बनेपछि उनीहरूबीच सामान्य कुराकानी र भेटघाट हुँदै आएको थियो।
गत २०८३ वैशाख ८ गते प्रतिवादी खड्काले पीडित महिलालाई इटहरीको पकलीस्थित जब्दी मेला घुम्न जान प्रस्ताव गरे। पीडित महिला स्कुटरमा र प्रतिवादी मोटरसाइकलमा उक्त मेलामा पुगे।
त्यहाँबाट घर फर्कने क्रममा प्रतिवादीले नास्ता खानका लागि सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ मा रहेको 'गोकुलम रिसोर्ट' नजिकैको ‘होटल सगरमाथा’मा लगेका थिए।
अपराह्न करिब ३ बजे होटलको कोठा नं. २०४ मा पुर्याएपछि प्रतिवादीले कोठाको ढोका बन्द गरी पीडित महिला र उनका श्रीमानको समेत ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
घटना पश्चात् डर र त्रासका कारण तत्काल कसैलाई भन्न नसकेकी पीडितले पछि श्रीमान्लाई घटनाबारे जानकारी गराउँदै प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।
होटल म्यानेजरको बयान
घटनास्थल मुचुल्का अनुसार उक्त घटना सुन्दरहरैँचा-४ स्थित सुमित्रा न्यौपानेको तीन तले घरमा सन्तोष न्यौपानेले भाडामा सञ्चालन गरेको ‘होटल सगरमाथा’को दोस्रो तलाको कोठा नं. २०४ मा भएको पुष्टि भएको छ।
होटलका रेखदेखकर्ता गगन भुजेलले कागज व्यहोरामा उल्लेख गरे अनुसार, २०८३ वैशाख ८ गते अपराह्न ३ बजे खड्का र पीडित महिला होटलमा आई कोठा माग गरेका थिए।
उनीहरूलाई कोठा नं. २०४ उपलब्ध गराई एक बोतल पानी दिइएको र उनीहरू करिब एक घण्टा बसेर फर्किएको उनले बताएका छन्। पछि वैशाख १८ गते प्रहरी टोलीसहित पीडित महिला होटलमा आएपछि मात्र आफूले उक्त घटनाबारे थाहा पाएको भुजेलको बयान छ।
प्रज्वल खड्का के भन्छन्?
प्रहरी नियन्त्रणमा रहेका प्रतिवादी प्रज्वल खड्काले भने आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। उनले अदालतमा दिएको बयान अनुसार उनीहरूबीच दुई वर्षदेखि आपसी सहमतिमा शारीरिक सम्बन्ध रहँदै आएको दाबी गरेका छन्।
प्रतिवादीका अनुसार, २०८३ वैशाख ८ गते दुवै जनाको आपसी सहमतिमा होटल सगरमाथामा शारीरिक सम्बन्ध भएको थियो। उनले पीडित महिलाले आफूसँग विभिन्न समयमा पैसा र सुनका गहना लिने गरेको आरोप समेत लगाएका छन्।
वैशाख १६ गते इटहरीको ‘दुबो क्याफे’ मा भेट हुँदा पीडितले श्रीमान्लाई जानकारी नदिई विदेश जानका लागि खर्च मागेको र आफूले दिन नसक्ने बताएपछि विवाद हुँदा सामान्य हातपात भएको खड्काको दाबी छ।
सोही विवाद र रिसइबीका कारण आफूविरुद्ध बलात्कारको झूटो मुद्दा हालिएको दाबी प्रतिवादीले गरेका छन्।
कानुन बमोजिम सजाय र क्षतिपूर्तिको मागदाबी
पीडित महिलाको उमेर ३० वर्ष रहेको पाइएकाले प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूरमा सोही दफाको उपदफा (३) को खण्ड (ङ) बमोजिम ७ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ।
साथै, ज्यान मार्ने वा गम्भीर अङ्गभङ्ग गर्ने डरत्रास देखाई करणी गरेकाले थप सजायको रूपमा ऐ. संहिताको दफा २१९ को उपदफा (३क) को खण्ड (ग) बमोजिम थप ३ लाख रुपैयाँ जरिवाना गर्न मागदाबी गरिएको छ।
यसका अतिरिक्त, दफा २२८ बमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्ति र हर्जाना भराउन समेत सरकारी वकिल कार्यालयले अदालतसमक्ष अनुरोध गरेको छ।
उक्त मुद्दाको थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्नेबारे निर्णय गर्नेछ।
जेठ १३, २०८३ बुधबार १०:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।