डा. गिरीलाई चिकित्सा शिक्षा आयोगको निमित्त उपाध्यक्षको जिम्मेवारी

डा. गिरीलाई चिकित्सा शिक्षा आयोगको निमित्त उपाध्यक्षको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. श्रीकृष्ण गिरीलाई आयोगको निमित्त उपाध्यक्षको जिम्मेवारी दिएका छन्। 

सोमबार अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त भएसँगै डा. गिरीले मंगलबारदेखि आयोगमा हाजिर भएर कार्यभार सम्हालेका छन्। उनी यसअघि आयोगको पहिलो उपाध्यक्षका रूपमा समेत कार्यरत थिए।

सरकारले गत महिना ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहितका पदाधिकारीहरू पदमुक्त भएका थिए। सो अध्यादेशका कारण आयोगको नेतृत्व तह रिक्त हुन पुगेको थियो।

आयोग पदाधिकारीविहीन भएको अवस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ऐन विपरीत भर्ना प्रक्रिया अघि बढाएको भनेर प्रा.डा. गोविन्द केसीले सोमबार अनसनको चेतावनी दिएका थिए। 

डा. केसीले आयोगको कामलाई निरन्तरता दिन पूर्व पदाधिकारीमध्येबाटै कसैलाई तत्काल उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने माग राखेका थिए। सरकारले सोमबार डा. गिरीलाई निमित्त उपाध्यक्षको जिम्मेवारी दिएको छ। 

जेठ १२, २०८३ मंगलबार २२:१७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।