वीरगन्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज : लिखतसम्बन्धी कसुर (कीर्ते) को अभियोगमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ।

वीरगन्जका एक स्थानीयको जाहेरीका आधारमा मंगलबार अदालतले सिंहसहित उक्त कसुरमा संलग्नहरूलाई पक्राउ गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको छ। 

मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेको प्रहरीले जनाएको छ। अदालतले उनीहरूलाई तान दिनभित्र पक्राउ गरी बुझाउन, सो अवधिमा फेला नपरेको खण्डमा कानुनबमोजिम ३५ दिने म्याद तामेल गर्ने प्रक्रियामा अघि बढ्न भनेको छ। 

अदालती रेकर्डअनुसार यस प्रकरणमा मेयर सिंहका साथै वीरगन्ज महानगरपालिका वडा नं ३ का तत्कालीन पञ्जिकाधिकारी (वडा सचिव) ६१ वर्षीय भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

मेयर सिंह हाल वीरगन्जमा नरहेको र महानगरकै कामको सिलसिलामा काठमाडौंमा रहेको उनको सचिवालयले जनाएको छ। प्रहरीले भने पुर्जी कार्यान्वयनका लागि कानुनी प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ।

 

जेठ १२, २०८३ मंगलबार १९:५०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।