गलत बकपत्र गरेको अभियोगमा सरकारी साक्षीहरू विरुद्ध नै मुद्दा दायर

गलत बकपत्र गरेको अभियोगमा सरकारी साक्षीहरू विरुद्ध नै मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ। आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो। 

सरकारी साक्षीका रूपमा उपस्थित प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा सहयोग नगरेको र गलत बकपत्र दिएको आयोगको दाबी छ।

गत वैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुनेगरी बयान दिएको पुष्टि भएको छ।

आयोगले स्याङ्जा पुतलीबजारका विप्लव पोखरेलविरुद्ध रु ५६ हजार ३५०, हेटौँडा उपमहानगरपालिकाका प्रल्हाद गौतमविरुद्ध ३७ हजार ५००  र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका राजेश श्रेष्ठविरुद्ध २७ हजार ३५० बराबरको बिगो माग दाबी गरेको छ।

उनीहरूले सो बराबरको रकम ढुण्डिराज दाहाललाई घूसबापत दिएका थिए। दाहाल यसअघि नै घूस लिएको अभियोगमा पक्राउ परेका थिए।

जेठ १२, २०८३ मंगलबार १७:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।