प्रधानमन्त्रीको जवाफ माग्दै संसद्मा प्रतिपक्षको अवरोध, कार्यसूचीमाथि जुहारी चर्किएपछि बैठक स्थगित
काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै अवरोध गरेपछि सदनको नियमित कार्यसूची प्रभावित भएको छ।
प्रतिपक्षीको अवरोध र सत्तापक्ष-प्रतिपक्षबीचको आरोप-प्रत्यारोपका कारण सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्यो। सभामुख डोलप्रसाद अर्यालले शून्य समय सकिए लगत्तै बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रतिपक्षी सांसदहरूले आसनबाट उभिएर अवरोध गरे।
उनीहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय सुनिश्चित गर्न माग गरे। प्रतिपक्षीहरूले नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने प्रावधानको कार्यान्वयन नभएको भनेर सभामुखको ध्यानाकर्षण गराए।
प्रतिपक्षीको अवरोधका बीच सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र यसबारे छलफल भइरहेको जानकारी गराउँदै बैठक अघि बढाउन सहयोग गर्न आग्रह गरे। "सत्तापक्षका मुख्य सचेतकज्यूबाट पनि मैले जानकारी पाएको छु, प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नुभएको जिज्ञासा र प्रश्नमा उत्तर दिने तयारी गरिरहनुभएको छ," सभामुख अर्यालले भने, "प्रधानमन्त्रीज्यूले छिट्टै सदनमा उपस्थिति भएर जबाफ दिनुहुनेछ।"
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले संसदलाई केवल संख्याको खेलका रूपमा लिएको र लोकतान्त्रिक मूल्य-मान्यताको उपहास गरेको आरोप लगाइन्। "संसद् विचार विमर्श, उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च थलो हो," सांसद थापाले भनिन्, "तर दुर्भाग्यवश सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउनेतर्फ उन्मुख देखिएको छ।"
उनले विधेयकहरू पारित गर्दा प्रतिपक्षलाई बेवास्ता गरिएको, प्रधानमन्त्री र मन्त्रीहरूकै कारण संसदीय समितिहरू प्रभावकारी हुन नसकेको र जनचासोका मुद्दामा सरकार गम्भीर नभएको आरोप समेत लगाइन्। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको र संसदीय अभ्यासलाई बेवास्ता गरेको आरोप लगाए। प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको भन्दै उनले प्रश्ने गरे, "संसदलाई छल्ने प्रयास किन भइरहेको छ ?"
विपक्षीको विरोध कायमै रहे पनि सभामुख अर्यालले बैठकको कार्यसूचीलाई अगाडि बढाउन खोजे। सोही क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू अशोककुमार चौधरी, सुशील खड्का र जगदीश खरेलले भाग लिइरहँदा पनि विपक्षीको नाराबाजी र विरोध रोकिएन। छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले संसदको अवरोधलाई तमासा भनी टिप्पणी गरेपछि प्रतिपक्षी सांसदहरूले आपत्ति जनाउँदै विरोध चर्काए।
निरन्तरको अवरोध र होहल्लाका कारण सदनको कारबाहीलाई मर्यादित रूपमा अघि बढाउन कठिन भएपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे।
जेठ १२, २०८३ मंगलबार १६:०५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।