विधेयक प्रस्तुत गर्न खोज्दा संसद्मा प्रतिपक्षको अवरोध
काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले शून्य समय सकिए लगत्तै बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रतिपक्षी सांसदहरूले आसनबाट उभिएर अवरोध गरेका हुन्।
सभामुख अर्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई 'पर्यटन विधेयक २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। सभामुख अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई विरोध गर्नुको कारणबारे धारणा राख्न समय दिए।
थापाले सरकारले संसदलाई केवल संख्याको खेलका रूपमा लिएको र लोकतान्त्रिक मूल्य-मान्यताको उपहास गरेको आरोप लगाइन्। "संसद् विचार विमर्श, उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च थलो हो," सांसद थापाले भनिन्, "तर दुर्भाग्यवश सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउनेतर्फ उन्मुख देखिएको छ।"
सांसद थापाले विधेयकहरू पारित गर्दा प्रतिपक्षलाई बेवास्ता गरिएको, प्रधानमन्त्री र मन्त्रीहरूकै कारण संसदीय समितिहरू प्रभावकारी हुन नसकेको र जनचासोका मुद्दामा सरकार गम्भीर नभएको आरोप समेत लगाइन्। उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षका माग र जनचासोका विषयलाई बेवास्ता गरिनु संसदीय मर्यादा विपरीत भएको उल्लेख गरिन्।
जेठ १२, २०८३ मंगलबार १४:५१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।