आगामी बजेटमा सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर बढाउन सांसदहरूको माग
काठमाडौं : सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तिजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनीहरूले सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै यस्तो माग गरेका हुन्।
नेपालमा हाल सुर्तिजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै सांसदहरूले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसार कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरे।
सुर्तिजन्य पदार्थबाट वार्षिक ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार ४५ अर्ब बढी रहेको सांसदहरूले बताए।
उनीहरुले सुर्तिजन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका आठ लाख युवा विद्यार्थी सुर्तिजन्य पदार्थको लतमा फसेको तथ्याङ्क उल्लेख गरे। सांसदहरूले सुर्तिजन्य पदार्थमाथि भारतमा ५८ र बङ्गलादेशमा ७३ प्रतिशत कर लिने गरिएको तथ्य सदनमा पेस गरे।
सांसद कुशुम महर्जनले सुर्तिजन्य पदार्थका कारण हरेक वर्ष नेपालमा ३९ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको भन्दै आगामी बजेटबाट त्यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गरीन्।
सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गरी त्यसको प्रयोगमा न्यूनीकरण ल्याउन आग्रह गरे। “सुर्तिजन्य पदार्थमा भारी करवृद्धि गरी यसको प्रयोगमा सङ्कुचन ल्याउन आवश्यक छ”, उनले भने।
जेठ १२, २०८३ मंगलबार १४:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।