कक्षाकोठा अभावले मुगुका विद्यार्थी टहरामा पढ्न बाध्य, सरकारसँग भवन निर्माणको माग
मुगु : मुगुको सोरु गाउँपालिका–७ स्थित एकमात्र आवासीय विद्यालय आवश्यक भौतिक पूर्वाधार र पर्याप्त कक्षाकोठाको अभावमा वर्षौंदेखि जस्ताको टहरोमै सञ्चालन हुँदै आएको छ।
भवन अभावका कारण यहाँ अध्ययनरत विद्यार्थीहरू कष्टकर अवस्थामा टहराभित्र बसेर पढ्न बाध्य छन्।
विद्यालयमा प्राथमिक तहका लागि केही कक्षाकोठा भए पनि निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीका लागि पर्याप्त भवन उपलब्ध छैन। कक्षाकोठाको अभावका कारण जस्ताको टहरोमै विद्यार्थीलाई राखेर पठनपाठन सञ्चालन गर्नुपरेको प्रधानाध्यापक रत्नराज चौलागाईले बताए।
दुर्गम बस्तीका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई गाउँमै शिक्षा प्रदान गर्ने उद्देश्यले यो आवासीय विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर विष्टले जानकारी दिए। तर, आवश्यक सरकारी सहयोग र पूर्वाधार नहुँदा उद्देश्य अनुरूप विद्यार्थीलाई सहज वातावरण दिन नसकिएको उनको भनाइ छ।
विद्यालयमा सुरक्षित कक्षाकोठा र भवन निर्माणका लागि स्थानीय अभिभावक, नागरिक अगुवा र वडा सदस्यहरूले सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र सङ्घीय शिक्षा मन्त्रालयसँग पटक-पटक बजेटको माग गरिसकेका छन्। तर, हालसम्म कतैबाट पनि यसको सुनुवाइ नभएको स्थानीयको आरोप छ।
उक्त आवासीय विद्यालयमा बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी, तारापानीलगायत बस्तीबाट विद्यार्थीहरु विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्।
जेठ १२, २०८३ मंगलबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।