ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने काठमाडौं महानगरको चेतावनी, जीबी राईलाई १५ दिने सूचना

ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने काठमाडौं महानगरको चेतावनी, जीबी राईलाई १५ दिने सूचना

काठमाडौं : काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि. (ग्यालेक्सी ४के टेलिभिजन) का नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै कार्यालयमा रहेका सरसामानहरू लिलामी गर्ने चेतावनी दिएको छ।

महानगरको कानुन तथा मानव अधिकार विभागले आज सार्वजनिक सूचना जारी गर्दै बाँकी भाडा बुझाएर आफ्ना सामानहरू लैजान अन्तिम अवसर दिएको हो।

महानगरका अनुसार काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने घरधनी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडियाका अध्यक्ष जितेन्द्र बाबु (जीबी) राईविरुद्ध ‘भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाऊँ’ भनी मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा काठमाडौं महानगरपालिकाको न्यायिक समितिले २०८१ कार्तिक १४ गते घरधनीको दाबी बमोजिम बहाल रकम र बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराइदिने निर्णय गरेको थियो।

न्यायिक समितिको सो निर्णय कार्यान्वयन गर्न उच्च अदालत पाटनले २०८२ साउन २८ गते महानगरका नाममा परमादेश जारी गरेपछि महानगरको टोलीले २०८२ कार्तिक १४ गते उक्त घरजग्गा खाली गराएको थियो।

घरजग्गा खाली गराएको ६ महिना पूरा भइसक्दा पनि गोरखा मिडियाले आफ्ना सामानहरू नलगेपछि घरधनी मृगेन्द्र मिश्रले ग्यालेक्सी फोरके टेलिभिजनका सरसामान लिलाम गरिपाऊँ भनी २०८३ वैशाख २१ गते महानगरमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा महानगरले यो सार्वजनिक सूचना जारी गरेको हो।

महानगरले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने सम्पूर्ण बहाल रकम बुझाई आफ्ना सरसामानहरू लैजान गोरखा मिडियालाई निर्देशन दिएको छ।

तोकिएको म्यादभित्र सामान नलगेमा काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम ग्यालेक्सी ४के टेलिभिजनका सामानहरू कानुन बमोजिम लिलाम गरिने ब्यहोरा सूचनामा उल्लेख छ।

उक्त टेलिभिजनमा अहिलेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समेत १५ प्रतिशत सेयर थियो। तर राजनीतिमा जान लागेपछि भने उनले उक्त सेयर रकम जीबी राईलाई नै बेचेर निस्किएका थिए।

जीबी राईमाथि अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भए पनि उनी फारार छन्।

जेठ १२, २०८३ मंगलबार ०९:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।