फास्ट ट्र्याकको सुरुङमार्गमा उपकरण खस्दा एक कामदारको मृत्यु, एक जना घाइते

फास्ट ट्र्याकको सुरुङमार्गमा उपकरण खस्दा एक कामदारको मृत्यु, एक जना घाइते

मकवानपुर : तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८, महादेवटारस्थित सुरुङमार्गमा काम गर्ने क्रममा फलामको उपकरण खसेर लाग्दा एक कामदारको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भएका करिब ३० वर्षीय राम गोपाल चौधरी रहेका छन्। जेठ ११ गते राति करिब ९:४५ बजे सुरुङभित्र काम गरिरहेको अवस्थामा सुरुङ निर्माणमा प्रयोग हुने ‘रिपिट’ नामक फलामको उपकरण खसेर चौधरीलाई लागेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि राति ११:३५ बजे मकवानपुरको चुरेहिल अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएको केही मिनेटमै (राति ११:४० बजे) उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मकवानपुरकै थाहा नगरपालिका-५, सानोपाखा बस्ने २२ वर्षीय सन्तोष बम्जन घाइते भएका छन्। उनको दाहिने हातमा सामान्य चोट लागेको र चुरेहिल अस्पतालमै उपचार भइरहेको छ।

घाइतेहरूलाई सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ का ३० वर्षीय दोभासे बेनु परियारले उपचारका लागि अस्पताल पुर्याएका थिए।

घटनालगत्तै प्रहरी नायब निरीक्षक (सई) प्रमोद प्रसाद साह तेलीको नेतृत्वमा प्रहरी टोली परिचालन भई थप अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनाको विस्तृत विवरण बुझ्न र अनुसन्धानका लागि दोभासे परियारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको छ।

मृतक चौधरीको शव परीक्षण (पोष्टमार्टम) का लागि सरकारी अस्पताल हेटौंडा लैजाने तयारी भइरहेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरबाट करिब ११ किलोमिटर उत्तरतर्फ पर्दछ।

जेठ १२, २०८३ मंगलबार ०९:२४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।