सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही : सर्लाही प्रहरीले अवैध भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विभिन्न सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका-२, सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान रहेका छन्।

इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरको संयुक्त टोलीले सोमबार बिहान बरहथवा नगरपालिका-१२, लौकट टोल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।

उक्त क्षेत्रमा केही शङ्कास्पद व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार ३-४ जनाको समूहमा रहेका उनीहरूले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए।

सो क्रममा प्रहरीले घेरा हाली घलानलाई हतियारसहित नियन्त्रणमा लिन सफल भए पनि अन्य व्यक्तिहरू भने फरार भएका छन्। फरार भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका घलानको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको गज (रड) एक थान, प्लास्टिकको बट्टामा रहेको ३५ ग्राम र स्टिलको बट्टामा रहेको १४० ग्राम कालो बारुद (विस्फोटक धुलो पदार्थ), साइकलमा प्रयोग हुने फलामको छर्रा (बल) ८० थान र फलामको रडका साना टुक्राहरू बरामद गरिएको छ।

बरामद सामग्री स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का उठाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका घलानमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ १२, २०८३ मंगलबार ०८:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।