लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल हुने
बुटवल : लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ।
बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।
त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नेछन्।
त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्ने कार्यसूची रहेको छ।
प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नछन् भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन्। त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने जनाइएको छ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
जेठ १२, २०८३ मंगलबार ०८:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।