प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्रीले विधेयक प्रस्तुत गर्ने
काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक विहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ।
महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूची अनुसार बैठकमा मुख्यतया व्यवस्थापन कार्य अन्तर्गत विभिन्न विधेयकहरू प्रस्तुत तथा छलफल गरिने कार्यक्रम रहेको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले “पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, प्रधानमन्त्री तथा गृह; विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
मन्त्री गौतमले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्” र सो विधेयकलाई “पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यसको अलावा “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्” र उक्त विधेयकलाई “पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
संसद् सचिवालयका अनुसार यी कार्यसूचीहरू सम्भावित हुन् र बैठकको आवश्यकता अनुसार यसमा सामान्य परिमार्जन हुन सक्नेछ।
यसअघि वैशाख ७ गते बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्रीले विधेयकहरू प्रस्तुत गर्दा विपक्षीहरूले उनले नै प्रस्तुत गर्नुपर्ने भन्दै संसदमा उठेर विरोध जनाएका थिए। तर सभामुखले पेलेरै संसद बैठक अघि बढाएका थिए।
जेठ १२, २०८३ मंगलबार ०७:५५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।