फिल्म 'काजी' : ‘वाह’ लाग्दो अभिनयमा निर्देशकको ‘ल्याङल्याङ’ स्क्रिनप्ले

फिल्म 'काजी' : ‘वाह’ लाग्दो अभिनयमा निर्देशकको ‘ल्याङल्याङ’ स्क्रिनप्ले

फिल्म ‘कायरा’, ‘डिसेम्बर फल्स’ जस्ता व्यावसायिक रूपमा असफल चलचित्र निर्देशन गरिसकेका निर्देशक लक्ष्मण रिजालले यसपटक फिल्म काजीमार्फत दर्शकको भावना र मौलिक कथालाई समात्ने प्रयास गरेका छन्। तीन दशकअघिको नेपाली ग्रामीण समाज, निस्वार्थ प्रेम, सन्तानको चाहना र श्रीमान्-श्रीमतीबीचको अगाध विश्वासलाई फिल्म 'काजी'मार्फत पर्दामा उतारेका छन्।

यो फिल्ममा निर्देशक रिजाल अनि मुख्य गरेर कलाकार विपिन कार्की र केकी अधिकारीले अभिनयमा गरेको मिहिनेत प्रस्ट देखिन्छ। कार्की र अधिकारीको अभिनय हेर्ने हो भने वाह भन्न मन लाग्छ। तर स्क्रिनप्लेको गति अनि क्लाइमेक्समा निर्देशक चुक्दा फिल्म मध्यम बन्न पुगेको छ।

मुख्य कथावस्तु 

चलचित्रको केन्द्रमा 'काजी' (विपिन कार्की) छन्, जो टुहुरो हुन्। उनको हेरचाह काका (प्रकाश घिमिरे) ले गरेका छन्। काजीका बुबाले पहाडको फेदीमा जग्गा बाँडेर गाउँ बसाएकाले गाउँभरि काजीको छुट्टै मान-प्रतिष्ठा र रवाफ छ। ऊ गाउँको धनी, भलाद्मी र मनकारी व्यक्तिमा गनिन्छ। अनि मन्त्रीसम्म घरमा आउने तहको प्रभाव पनि देखिन्छ।

कार्की (हेमन्त बुढाथोकी) की साइँली छोरी (केकी अधिकारी) आफ्नै घरमा हेलाँमा हुर्किइन्, कारण कार्की छोरा चाहन्थे तर भयो छोरी। काजीका लागि श्रीमती खोज्ने क्रममा काजीका काका उनै कार्कीको घरमा पुग्छन् र दुवै परिवार विवाहका लागि राजी हुन्छन्। 

विवाहपछि काजीले आफ्नी श्रीमतीलाई अगाध माया गर्छ र घरको कुनै अप्ठ्यारो काम गर्न दिँदैन। तर, लामो समयसम्म सन्तान नभएपछि उनीहरूमा निराशा छाउँछ। यसैबीच, कान्छी साली (गरिमा शर्मा) दिदी-भेनाको घरमा आउँछिन्। 

सालीको लामो बसाइ र गाउँलेहरूले काजीले साली भित्र्याउन लागेको भनी चलाएको हल्लाका कारण श्रीमती गम्भीर मानसिक तनावमा पर्छिन्। सालीका कारण श्रीमान् गुम्ने डरले उनले आफू गर्भवती भएको 'झूटो' कुरा काजीलाई सुनाउँछिन्। फिल्म यही एउटा झूटले निम्त्याउने मानसिक तनाव र सम्बन्धको उतारचढावमा केन्द्रित छ।

सबल पक्ष 

फिल्मको सबैभन्दा बलियो पक्ष नै मुख्य कलाकारको जीवन्त अभिनय हो। उनीको स्विटरपछिको मिठो अभिनय देखिन्छ विपिनको यसमा। कथा अनि पटकथाकारले जस्तो पात्रलाई शब्दमा उतारेका छन् त्यसमा  विपिन ट्वाक्क मिसिएका छन्।

अभिनयमा हल्का उनीको स्वेटरको झल्को नआउने हैन, तर सोझो र गम्भीर गाउँले युवाको भूमिकामा पूर्ण न्याय गरेका छन् उनले। अर्कोतर्फ, फिल्म बोक्सीको घर व्यवसायीक रूपमा सफल भए पनि अभिनयका दृष्टिले केकी अधिकारीले जस पाइनन्। उनको अभिनय पात्रको चरित्र भन्दा अलि लाउड देखिएको थियो।

तर अधिकारीले यसपटक आफ्नो अभिनयमा गज्जबको सन्तुलन ल्याएकी छन्। आफ्नो चर्को शैलीलाई नरम पार्दै उनी कजिनीको भूमिकामा मिसिएकी छिन्। विपिनको अभिनयसँग दाँज्दा उनी कमजोर देखिएकी छैनन्।

निर्देशक रिजालले कथालाई सुरुदेखि नै दर्शकलाई कनेक्ट गराउने प्रयास गरेका छन्। गाउँले परिवेश, प्रतीकात्मक दृश्यहरू र मिठा संवादमार्फत सम्बन्धको संवेदनशील पक्ष पस्कने प्रयास गरेका छन्।

भित्तामा फर्सी र काँक्राको बियाँ राख्ने दृश्य र सन्तान नहुँदाको पीडा झल्काउने संवादहरू निकै गहकिला छन्। 

फिल्मको 'बलेसीमा जुन हो कि जुनेली’, ‘वारी वर पारी पिपलु’, ‘ज्यानको तिर्खालाई पानी’बोलको गीत  र भजनलाई सही टाइमिङमा राखिएको छ। छायाङ्कन र रङ संयोजन फिल्मको मुड बुझाउन सफल छ।

दुर्बल पक्ष 

यो फिल्मले दर्शकको धैर्यताको परीक्षण नै गर्छ भन्दा फरक पर्दैन। सुस्त हैन, अति सुस्त स्क्रिनप्ले यसको सबैभन्दा ठूलो कमजोरी हो। कथा र फिल्मको गतिको सन्तुलन मिलाउन नसक्दा दर्शकले धैर्यता गुमाउने जोखिम उच्च छ।

चलचित्रको सेटअप राम्रो भए पनि अन्त्यतिर निर्देशकले कथालाई हतारमा टुङ्ग्याएका छन्। क्लाइमेक्समा आएर फिल्मको मूल पात्र काजीको चरित्र र स्वभावसँग नमिलेको अनुभव हुन्छ। क्लाइमेक्समा सिर्जनात्मक हुने सम्भावना टन्नै देखिन्छ। तर निर्देशकले अन्तिममा ह्या चलिहाल्छ भन्ने गम्भीर भूल गरेझैँ अनुभव हुन्छ।

फिल्मका कतिपय दृश्यहरू त्यति लामो राख्नुको अर्थ बुझ्न सकिन्न। विवाहको दृश्यमा झन्डै १५ मिनेट खर्चिनुको अर्थ के? यो चैँ डकुमेन्ट्री पाराकै देखिन्छ। तीन दशकअघिको रात्रिकालीन विवाहको दृश्यमा बिजुली बत्तीको आधुनिक झिलिमिली देखाइनु तत्कालीन समय परिवेश अनुकूल देखिँदैन। केही संवादहरू पनि अति नै नाटकीय अनुभव हुन्छ। अब के हुन्छ भन्ने रहस्य नै नभएको फिल्म तन्काइरहँदा ‘ह्या कति ल्याङल्याङ गराइरा होला’ भनेर झोक पनि चल्न सक्छ।

समग्रमा, 'काजी' साधारण कथाभित्र गहिरो मनोविज्ञान र पारिवारिक डरलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। यदि यसमा पात्रहरूको मानसिक र व्यवहारिक द्वन्द्वको निर्माण गर्न सकेको भए अनि क्लाइमेक्समा अल्छी नगरी निर्देशकले दिमाग चलाएको भए फिल्म अब्बल बन्नसक्थ्यो। तर चुके।

निर्देशकले चलचित्रको आवरणलाई माझ्न अल्छी गर्दा फिल्म अब्बलबाट मध्यम बनेको अनुभव हुन्छ। दर्शकको धैर्यताको परीक्षणमा केन्द्रित हुनु निर्देशकको भुल देखियो।

जेठ ११, २०८३ सोमबार २०:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।