बसुन्धराको स्पामा १६ वर्षीया बालिकाको यौन शोषण, सञ्चालिकालाई १५ वर्ष कैद र जरिवानाको माग
काठमाडौं : काठमाडौंको बसुन्धरास्थित ‘पार्क स्पा’मा १६ वर्षीया बालिकालाई जबरजस्ती यौनजन्य गतिविधिमा संलग्न गराएको अभियोगमा सञ्चालिका अनिता भण्डारी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अदालतमा दायर गरेको अभियोग पत्रमा प्रतिवादी भण्डारीलाई 'मानव बेचबिखन तथा ओसारपसार' मुद्दामा कडा सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबी गरिएको छ।
पीडित नाबालिगका अनुसार उनको गाउँकी दिदी अञ्जना थापामगर पहिलेदेखि नै काठमाडौंमा काम गर्थिन्। पीडित र उनकी साथी बिनीता (लीलामाया मगर)ले काठमाडौंमा काम खोजिदिन अञ्जनासँग फोनमा कुराकानी गरेका थिए।
अञ्जनाले डोनट बनाउने कारखानामा काम मिलाइदिने आश्वासन दिएपछि दुवै जना गत माघ २८/२९ गते उदयपुरको कटारीबाट गाडी चढेर काठमाडौंको महाराजगन्ज आइपुगेका थिए।
काठमाडौं आएपछि उनीहरू १५-१६ दिन अञ्जनाको कोठामा बसे। अञ्जनाले उनीहरूलाई डोनट कारखानामा काम लगाइदिएकी थिइन्। तर, त्यहाँ काम गर्न निकै गाह्रो भएपछि उनीहरूले केही दिनमै काम छाडे र छुट्टै कोठा खोजेर बस्न थाले।
कोठा खोज्ने क्रममा अञ्जनाकी साथी वर्षासँग उनीहरूको भेट भयो। वर्षाले आफू काम गर्ने बसुन्धरास्थित ‘पार्क स्पा’ मा कर्मचारी आवश्यक रहेको र त्यहाँ काम गरे राम्रो आम्दानी हुने बताएपछि पीडित नाबालिग गत वर्ष फागुनमा महिनाको अन्तिम साता स्पा सञ्चालिका अनिता भण्डारीकहाँ पुगिन्।
‘ह्याप्पी एन्डिङ’का नाममा यौन शोषणको खुलासा
सुरुमा स्पाकी साहुनी अनिता भण्डारीले नाबालिगलाई मासिक १० हजार रुपैयाँ तलब दिने र एक महिनापछि प्रतिग्राहक ३० प्रतिशत कमिसन दिने प्रलोभन देखाइन्। ग्राहक खुसी पारेमा अतिरिक्त ‘टिप्स’ पाइने प्रलोभन समेत देखाइएको थियो।
नाबालिग स्पामा काम गर्न थालेपछि साहुनी अनिताले ४-५ दिनसम्म मसाज गर्ने तरिकाहरू सिकाएकी थिइन्। त्यसपछि उनले स्पामा आउने पुरुष ग्राहकहरूले ‘ह्याप्पी एन्डिङ’ मागेमा अनिवार्य रूपमा हस्तमैथुन गराई यौनजन्य कार्य गर्न निर्देशन दिइन्।
काठमाडौंमा कोही पनि आफन्त नभएकी र बस्न तथा खान समस्या भएकी नाबालिग बाध्य भएर उक्त स्पामा काम गर्न थालिन्। स्पामा उनीसहित तीन जना महिला कर्मचारी कार्यरत थिए। त्यहाँ आउने पुरुष ग्राहकहरूले आफू अनुकूलका कर्मचारी रोज्ने गर्थे।
पीडितका अनुसार सुरु-सुरुमा उनलाई यो काम मन परेको थिएन। तर, साहुनीले ‘हाम्रो स्पामा तेल र ड्राई मसाजबाहेक ह्याप्पी एन्डिङ गर्नुपर्छ, ग्राहक खुसी पारेर पठाउनुपर्छ’ भन्दै दबाब दिने गर्थिन्।
ग्राहकहरूले ‘ह्याप्पी एन्डिङ’ गराएबापत पीडितलाई २ सयदेखि ५ सय रुपैयाँसम्म टिप्स दिने गर्थे। साहुनी अनिताले नियमित रूपमा ‘ह्याप्पी एन्डिङ गरिदियौ कि नाइँ?’ भनी सोध्ने र ग्राहकसँग डिल गर्ने गर्थिन्।
२०८३ वैशाख १५ गते प्रहरीले उक्त स्पामा प्रहरीले छापा मार्दा नाबालिगलाई फेला पारेको थियो। उनी नाबालिग देखिएपछि प्रहरीले संरक्षणका लागि तत्काल ‘माइती नेपाल’ संस्थामा पठायो।
माइती नेपालमा सोधपुछका क्रममा उनले आफूमाथि स्पाभित्र भएको शारीरिक तथा मानसिक यौन शोषणको सबै सविस्तार विवरण खोलिन्। त्यसपछि माइती नेपालको सहयोगमा प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी दर्ता गरिएको थियो।
अनिता भण्डारीको इन्कारी बयान
सरकारी वकीसँगको बयानमा साहुनी अनिता भण्डारीले आफू विगत १० वर्षदेखि ब्युटी पार्लर र स्पा व्यवसायमा संलग्न रहेको बताइन्। उनले आफ्नो जेठो छोरा वैदेशिक रोजगारीका क्रममा कुवेत गएको र नेपाल फर्कँदा २९ वर्षको उमेरमा मृत्यु भएको तथा हाल कान्छो छोरा र आफू मात्र रहेको उल्लेख गरिन्।
उनले स्पामा काम गर्ने ‘वर्षा’मार्फत जाहेरीवाला नाबालिग र उनकी साथी काम खोज्दै आएको स्वीकार गरिन्। सुरूमा उनले उनीहरूलाई मासिक १० हजार रुपैयाँ तलब दिने गरी स्पा सरसफाइ, पूजाका भाँडा माझ्ने र कपडा धुने काममा लगाएको दाबी गरिन्। पछि उनीहरूले नै मसाज सिक्ने इच्छा गरेपछि मसाज सिकाएर काममा लगाएको बताइन्।
तर, उनले आफूले कहिल्यै पनि ग्राहकहरूलाई ‘ह्याप्पी एन्डिङ’ गराउन नलगाएको र स्पामा त्यस्तो गैरजिम्मेवार कार्य नहुने दाबी गरिन्।
उल्टै आफूले नाबालिगलाई उमेर सानो देखिएकाले ‘नागरिकता बनाएर मात्र काममा आऊ’ भनी हिसाबकिताब गरेर घर पठाएको तर उनी घर नगई ५ दिनपछि फेरि स्पामा फर्किएको दाबी गर्दै आफूमाथिका आरोपहरू झूटो भएको जिकिर गरिन्।
सजाय माग
सरकारी वकिल कार्यालयको अभियोग पत्रमा प्रतिवादी अनिता भण्डारीले कलिलो उमेरकी नाबालिगको गरिबी र कमजोर आर्थिक अवस्थाको फाइदा उठाई, विभिन्न प्रलोभन, आश्वासन र दबाब दिएर यौन शोषण, वेश्यावृत्ति तथा यौनजन्य क्रियाकलापमा लगाएको स्पष्ट देखिएको उल्लेख छ।
कसुर अन्तर्गत सरकारी वकिलले प्रतिवादी अनिता भण्डारीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवानाको माग गरेको छ।
यसका अलावा ऐनको दफा २२ बमोजिम अभियुक्तले नैतिक पतन देखिने फौजदारी कसुर गरेको ठहर गर्न, अदालतले कसुरदारलाई गराएको जरिवानाको कम्तीमा ५० प्रतिशत बराबरको रकम पीडितलाई ‘मनासिब माफिकको क्षतिपूर्ति’ बापत भराउन, पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन माग गरेको छ।
जेठ ११, २०८३ सोमबार ११:३६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।