पहिरोले हुङ्गा खोला थुनिएर १६ मिटर अग्लो बाँध बन्यो, दूधकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पहिरोले हुङ्गा खोला थुनिएर १६ मिटर अग्लो बाँध बन्यो, दूधकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर

सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला भीषण पहिरोले थुनिएपछि प्रशासनले दूधकोशी नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज बिहान करिब ७:०० बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँध (कृत्रिम ताल) बनेको छ। पहिरो खस्ने क्रम अझै नरोकिएकाले तालमा पानीको सतह निरन्तर बढिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार पहिरोका कारण बनेको अस्थायी बाँध कुनै पनि बेला फुटेर आकस्मिक बाढी आउन सक्ने जोखिम छ।

उनले भने, “पहिरो नरोकिएकाले खोलामा पानीको मात्रा बढ्दो छ। त्यसैले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सतर्क रहन र जोखिमयुक्त क्षेत्र छाडेर सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।”

हुङ्गा खोला दूधकोशी नदीमा मिसिने भएकाले सोलुखुम्बुसहित तल्लो तटीय क्षेत्रमा पर्ने छिमेकी जिल्लाहरू खोटाङ र ओखलढुङ्गाका बासिन्दालाई समेत सुरक्षित रहन सम्बन्धित जिल्ला प्रशासनमार्फत सूचना पठाइएको छ।

साथै, सो क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरूलाई पनि सतर्क रहन निर्देशन दिइएको छ।

यसैबीच, थुनिएको खोलाको निकास खोल्न महाकुलुङ गाउँपालिकाले घटनास्थलतर्फ एउटा एक्स्काभेटर पठाएको छ। गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले स्थलगत अवस्था बुझेर जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट तत्काल पहल थालिएको जानकारी दिए।

प्रशासनले विपद्को जोखिम टरिनसकेकाले खोला र नदी किनार आसपास नजान तथा सुरक्षा निकायले जारी गर्ने पछिल्ला सूचनाहरूको पालना गर्न स्थानीयवासीसँग अपिल गरेको छ।

भदौ २६, २०८३ शुक्रबार ११:२६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।