प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, बाढीपछिको राहत र उद्धारबारे छलफल
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज द्विपक्षीय हित तथा समसामयिक विषयमा टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरूलाई तीव्रता दिएको जानकारी गराए।
उनले न्युजिल्यान्डका नागरिकसहित बाढीमा बेपत्ता भएका सबै विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको समकक्षी लक्सनलाई आश्वस्त पारे।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सो अवसरमा प्रधानमन्त्री शाहले न्युजिल्यान्ड सरकारले नेपाललाई उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको आपत्कालीन मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनमार्फत त्यहाँको सरकार र जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
यसैगरी, जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिमयुक्त मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य ‘हानि तथा नोक्सानी’ कोषबाट वित्तीय सहयोग जुटाउन न्युजिल्यान्डको भूमिका रचनात्मक हुने विश्वास व्यक्त गरे।
प्रत्युत्तरमा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले बाढीपहिरोले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।
उनले न्युजिल्यान्ड सरकार तथा जनताका तर्फबाट शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै विपद्को यस कठिन घडीमा नेपालसँग पूर्ण ऐक्यबद्धता रहेको बताएको सचिवालयले जनाएको छ।
भदौ २६, २०८३ शुक्रबार ११:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।