ह्वाइट हाउस बाहिर गोली चलाउने युवकको पहिचान खुल्यो, आफूलाई 'भगवानको छोरा' दाबी गर्थे

ह्वाइट हाउस बाहिर गोली चलाउने युवकको पहिचान खुल्यो, आफूलाई 'भगवानको छोरा' दाबी गर्थे

एजेन्सी : अमेरिकाको ह्वाइट हाउस बाहिर शनिबार साँझ भएको गोली चलेको घटनाबारे थप विवरण सार्वजनिक भएको छन्। सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका २१ वर्षीय युवक नासिरे बेस्ट रहेको सुरक्षा एजेन्सीहरूले पुष्टि गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बेला भएको यो घटनामा एक सर्वसाधारण नागरिक समेत गम्भीर घाइते भएका छन्।

को थिए नासिरे बेस्ट ?
अमेरिकी सुरक्षा एजेन्सी र सञ्चारमाध्यमका अनुसार नासिरे बेस्ट कुनै व्यावसायिक आतङ्ककारी वा सुटर थिएनन्। उनी लामो समयदेखि मानसिक समस्यासँग जुधिरहेका थिए। उनी आफूलाई 'भगवानको छोरा' दाबी गरेर पोस्टहरू गर्ने गर्थे।

अदालती रेकर्डबाट नासिरे यसअघि पनि सुरक्षा निकायको निगरानीमा परेको तथ्य खुलेको छ। यसअघि पनि उनी ह्वाइट हाउस नजिकैको बाटो थुनेको र निषेधित क्षेत्रमा जबरजस्ती छिर्न खोजेको आरोपमा पक्राउ परेका थिए। 

उनले प्रहरीसँगको सोधपुछमा आफूलाई पक्राउ गरोस् भन्ने चाहनाले जानीजानी यस्ता हर्कत गर्ने गरेको बताएका थिए। उनको शङ्कास्पद गतिविधिका कारण अदालतले उनलाई ह्वाइट हाउस क्षेत्रमा प्रवेश गर्न प्रतिबन्धसमेत लगाएको थियो।

साँझ ६ बजे के भयो ?
शनिबार साँझ ठिक ६ बजे नासिरे ह्वाइट हाउस परिसर बाहिरको १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार उनले केही बेर त्यहाँ टहलेपछि अचानक झोलाबाट ह्यान्डगन निकाले र सिक्रेट सर्भिसका अधिकारीहरूमाथि निशाना बनाएर तीन राउन्ड गोली चलाए।

एक्कासि गोली चल्न थालेपछि त्यहाँ भागदौड मच्चियो। तर, सुरक्षाकर्मीले तत्कालै मोर्चा सम्हाले र नासिरेमाथि जवाफी फायरिङ गरे। उनलाई रोक्न करिब ३० राउन्ड गोली चलाइएको थियो। गोली लागेर रगताम्मे भई ढलेका नासिरेलाई जर्ज वासिङ्टन अस्पताल पुर्याइयो, जहाँ डाक्टरले उनलाई मृत घोषित गरे।

ह्वाइट हाउसभित्रको अवस्था
गोली चल्दा राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको ओभल अफिसमा इरानसँगको शान्ति सम्झौताबारे काम गरिरहेका थिए। उनले घटनाभन्दा करिब दुई घण्टाअघि मात्रै यसबारे 'ट्रुथ सोसल'मा जानकारी दिएका थिए। बाहिर गोली चल्नासाथ सुरक्षाकर्मीले ह्वाइट हाउस परिसरलाई पूर्ण रूपमा सिल गरे।

त्यहाँ रहेका पत्रकार र कर्मचारीलाई सुरक्षित कोठामा पठाइयो। एक टेलिभिजन पत्रकारले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेर भनेका छन्, "गोलीको आवाज यति भयानक थियो कि पत्रकारहरू ज्यान जोगाउन मिडिया टेन्टमुनि झुकेका थिए।" सिक्रेट सर्भिसले राष्ट्रपति पूर्ण सुरक्षित रहेको स्पष्ट पारेको छ।

जेठ १०, २०८३ आइतबार ०९:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।