प्रधानमन्त्री वालेन्द्रदेखि अर्थ मन्त्रालयसम्मको नाम जोडेर नेपाली फसाउँदै प्राइमऔरा, नक्कली समाचारबाट फैलाउँदै ठगी जालो

प्रधानमन्त्री वालेन्द्रदेखि अर्थ मन्त्रालयसम्मको नाम जोडेर नेपाली फसाउँदै प्राइमऔरा, नक्कली समाचारबाट फैलाउँदै ठगी जालो

काठमाडौँ : नक्कली समाचारको माध्यमबाट प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), अर्थ मन्त्रालय अनि नेपालका स्थापित व्यवसायीक घरानाको नाम जोड्दै प्राइमऔरा नामक एक एपले नेपालीहरूलाई उच्च प्रतिफलको लोभ देखाएर ठगीको पासो थापेको छ।

आफूलाई न्युजिल्यान्डमा दर्ता भएको र एआई प्रविधिमार्फत स्वचालित ट्रेडिङ गराउने प्लेटफर्मको रूपमा मार्केटिङ गर्दै नेपालीहरूलाई प्रलोभनमा फसाउन यसले दि हिमालयन टाइम्सको लोगो प्रयोग गरेर नक्कली समाचार सम्प्रेषण गरेको छ जहाँ उसले प्रधानमन्त्री वालेन्द्रको तस्बिर मात्रै हैन उनी नै यसको प्रवर्धनमा संलग्न देखाउँदै ठगीको डिजिटल जालो फैलाइरहेको देखिन्छ।

यसले प्रारम्भमै प्रधानमन्त्री वालेन्द्रको भनाई राखेको छ जसमा यसबाट अहिलेसम्म १० हजार भन्दा बढी नेपाली खुसी भइसकेको र न्यूनतम लगानीमा हप्ताको न्युनतम् ४ लाख ८० हजार नेपाली रुपैयाँ आम्दानी हुने निश्चित रहेको उल्लेख छ।

यसले आफ्नो टाउकोमै दि हिमालयन टाइम्सको लोगो र वेबसाइटको डिजाइन प्रयोग गरेको छ। तर डोमेन भने टपक्याटइन्टरटेनमेन्टको प्रयोग गरेको छ। झुक्क्याउन चौधरी समूहले प्राइमऔरा प्लेटफर्मका लागि विशेष सफ्टवेयर विकास गरेको र यसको मुख्य लगानीकर्तामध्ये एक भएको दाबी गरिएको छ।

यसमा हुलास मोटर्स प्रालिले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित उन्नत प्रविधि र एल्गोरिदमहरू उपलब्ध गराएको, नेपाल आयल कर्पोरेसन र ग्लोबल आइएमई बैंक लिमिटेडले यो प्लेटफर्मलाई स्थानीय बैंकिङ प्रणालीसँग जोडेर वित्तीय स्थिरता र सुरक्षा सुनिश्चित गरेको दाबी गरिएको छ।

ठगीका लागि झुक्याउन प्राइमऔराले दुरुपयोग गरेको नाम र लोगो।यसको प्रारम्भमै बालेन शाहले प्राइमऔराका सीईओसँग मिलेर 'प्राइमऔरा' नामक नयाँ लगानी प्लेटफर्म सार्वजनिक गरेको र यसले नेपालको आर्थिक भविष्य बदल्ने वाचा गरेको भनेर झुक्क्याउने प्रयास गरेको छ। 

“हामीले यस प्लेटफर्मको सम्पूर्ण विवरण जान्नका लागि बालेन शाहसँग प्रत्यक्ष कुराकानी गर्न सफल भयौँ। उहाँले हामीसँग यस परियोजनाका मुख्य पक्षहरू र यसले नेपाली नागरिकहरूलाई कसरी आत्मविश्वासी बन्न र आर्थिक कठिनाइहरू पार गर्न मद्दत गर्नेछ भन्नेबारे कुरा गर्नुभयो” त्यसमा लेखिएको छ।

त्यसमा प्रधानमन्त्री वालेन्द्रको भनाई भनेर “यस प्लेटफर्मको मुख्य उद्देश्य प्रत्येक नेपाली नागरिकलाई उन्नत प्रविधिको प्रयोग गरेर ठुलो रकम कमाउने अवसर दिनु, समग्र अर्थतन्त्रलाई मद्दत गर्नु रहेको जस्ता दाबीहरू राखिएको छ।

ठगीको जालोमा अर्थ मन्त्रालयको नाम र लोगो

यसमा प्रारम्भमा ३५ हजार रुपैयाँ लगानी गरेर सुरुवात गर्न सकिने तर यसको उच्च मागका कारण प्रारम्भिक लगानी चाँडै नै १ लाख ८० हजार रुपैयाँ पुग्न सक्ने भन्दै लोभ्याइएको छ। यसबाट घरको ऋण चुक्ता गर्ने, आफ्नो परिवारका लागि आधुनिक र आरामदायी घर किन्ने, आफ्ना बच्चाहरूको शिक्षाको लागि खर्च गर्ने, आफ्ना सबै ऋण तिर्ने, नयाँ कार किन्ने अनि बिदाको आनन्द लिने जस्ता प्रलोभन दिइएको छ।

झुक्क्याउनका लागि यसले अर्थ मन्त्रालयको लोगोसहित भनाई समेत राखेको छ। त्यसमा सम्पत्तिको उच्च स्तरको सुरक्षा र लगानीकर्ताहरूको अधिकारको रक्षा सुनिश्चित गर्न अर्थ मन्त्रालयले यो प्लेटफर्मको सुपरिवेक्षण र अनुगमनमा सक्रिय सहभागी रहेको उल्लेख छ। त्यसमा यसमा पाँच हजार नेपालीका लागि उपलब्ध हुने र यसमा अब ९ सय ६४ सिट मात्र बाँकी रहेको भनिएको छ।

जेठ ३, २०८३ आइतबार १९:१६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।