बालबालिकाको शिक्षामाथि डोजरको धक्का : तीन हजार विद्यार्थीको भविष्य ‘होल्डिङ सेल्टर’मा बन्धक

बालबालिकाको शिक्षामाथि डोजरको धक्का : तीन हजार विद्यार्थीको भविष्य ‘होल्डिङ सेल्टर’मा बन्धक

काठमाडौं : काठमाडौंका १९ अव्यवस्थित बस्तीमा सरकारले बिना प्रक्रिया डोजर चलाउँदा घरबाट मात्र विस्थापित नभई तीन हजार १३३ बालबालिकाको विद्यालय पहुँचसमेत खोसियो। देशभर नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसक्दा विस्थापित बालबालिकाको शैक्षिक भविष्य यतिबेला 'होल्डिङ सेल्टर'मा होल्ड हुन पुगेको छ।

काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न 'होल्डिङ सेल्टर'मा खुम्चिन बाध्य बालबालिकाको पढाइ अन्योलको अवस्थामा छ। भविष्यसँगै शिक्षाको नैसर्गिक अधिकारबाट उनीहरू वञ्चित छन्। उकेराको सम्पर्क आएका विस्थापितहरूको मुख्य गुनासो नै आफ्ना सन्तान पढाइबाट वञ्चित भइरहेको भन्ने छ। 

सरकारले विस्थापितहरूलाई अहिले बालाजु, माछापोखरी र नयाँबसपार्कको विभिन्न गेष्ट हाउस, राधास्वामी सत्संग, भक्तपुरको खरिपाटी, बोडे, नगरकोट, बनेपा र नागार्जुनमा राखेको छ। जसमध्ये राधास्वामी सत्संग होल्डीङ सेल्टरमा रहेका विस्थापितहरूलाई काठमाडौं महानगरपालिकाले खाना र बस्नको व्यवस्था मिलाएको छ। 

बाँकी सबै ठाउँमा राखिएका विस्थापितको खाना र बस्नको व्यवस्था अस्थायी रूपमा शहरी विकास मन्त्रालयले मिलाएको छ। सरकारले तत्काल खाना र बस्ने व्यवस्था गर्ने बाहेक रोजगार र शिक्षाबाट उनीहरूलाई वञ्चित गरेको देखिन्छ। जसरी हुन्छ, पुरानै ठाउँमा जानबाट ‘होल्ड’ गरेर राख्नु जस्तो मात्र उद्देश्य रहेको देखिन्छ।

“सरकारले अहिलेसम्म हामीलाई बाहिर जान दिएको छैन, भनेपछि पक्कै हाम्रो व्यवस्थापन गरिदिनुहुन्छ होला भन्ने अझै पनि आश छ,” गोंगबुको गेस्ट हाउसमा सरकारले राखेको ठाउँमा बसिरहेकी कमला योन्जन भन्छिन्, “अब मेरो नानी एउटालाई विद्यालय जाने वातावरण बनाइदिए म खुसी हुने थिएँ।”

यता बनेपाको होल्डीङ सेल्टरमा रहेको गीता परियार भन्छिन्, “काठमाडौंभन्दा बाहिर ननिस्केको हाम्रो नानीबाबुलाई हामीसँगै बनेपा ल्याएर राखेको छ। काठमाडौंमै रहेका अन्य विस्थापित बालबालिकाहरू पढ्न गयो भन्ने समाचार आइरहेको छ। हाम्रो चैँ किन यति टाढा ल्याएर राखेको। हाम्रो सन्तानले चैँ शिक्षा लिन पर्दैन ?”

उनले राधास्वामी होल्डीङ सेल्टरमा रहेका बालबालिका नजिकैको जनविकास माध्यमिक विद्यालयमा पढ्न गएको समाचार देखेकी रहिछन्। बनेपामा अहिले १०८ जना विस्थापित छन्। जसमध्ये एकै परिवारको तीन जनासम्म विद्यालय जानुपर्ने बालबालिका रहेको उनको भनाइ छ। सरकारले घरबारविहीन बनाएको जसरी शिक्षाविहीन र रोजगारीविहीन समेत बनाउन लागेको हो कि ! भन्ने उनीहरूको आशंका छ।  

महानगरको देखावटी काम, सम्पर्कमा नरहेका विद्यार्थी खै ?
तर सञ्चार माध्यममा आएको जस्तो राधास्वामी सत्संगमा रहेका विद्यार्थीहरू पनि भर्ना भएर विद्यालय जान थालेका भने होइनन्। सरकारको चौतर्फी आलोचना हुँदा यहाँका विस्थापितहरूको अस्थायीरुपमा काठमाडौं महानगरपालिकाले जिम्मा लिएको र नजिकैको विद्यालयमा डोजरकै कारणले विद्यार्थी घटेको कारण केही समयको लागि मात्र उनीहरूलाई पढ्न राखिएको खुल्यो।

सुरुमा महानगरपालिकाले ५८ जना बालबालिकाको नाम जनविकास माविमा पठाएको भए पनि अहिले नियमित रूपमा जम्मा ४१ जना मात्र बालबालिका पढ्न गइरहेको देखियो। बालबालिकालाई बिहान होल्डीङ सेल्टरबाट नगर प्रहरीको निगरानीमा लाइन राखेर हिँडाएर विद्यालय पुर्याइन्छ। दिउँसो फेरि तीनै नगर प्रहरी विद्यालय गएर बालबालिकाहरू लाइन लगाएर होल्डीङ सेल्टरमै छोड्ने गरिन्छ।

यसरी विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित गराइएका ४१ जना बालबालिका मात्र एक हप्तादेखि विद्यालयमा पढ्न गइरहेका छन्। महानगरको शिक्षा विभागले विद्यालयलाई ती विद्यार्थीहरूलाई बढीमा दुई महिनासम्म ‘पढाउन आग्रह’ गरेको विद्यालयका प्रधानाध्यापक अनिल कुमार झाले उकेरालाई बताए।

“उहाँ सरहरू (महानगरको शिक्षा विभाग)ले बच्चाहरूलाई पढाइदिन पर्यो। के छ अवस्था भनेर बालबालिकालाई यहाँ ल्याउनुभन्दा एक दिन अगाडि मलाई सोध्नु भएको थियो,” उनी भन्छन्, “हाम्रै पनि बल्खुको जागरण टोलबाट यहाँ ८० देखि सय जना विद्यार्थी पढ्न आउँथे। उनीहरू अहिले सम्पर्कविहीन छन्। यस्तो अवस्थामा मानवीय हिसाबले पनि हामी विद्यार्थीलाई पढाउन तयारी भयौं।”

बल्खुमै रहेको विद्यालयमा वैशाख १८ गते बल्खुमा चलाइएको डोजरले भत्किएका बस्तीबाट समेत विद्यार्थी पढ्न आउन गरेको उनले खुलाए। जसमध्ये जम्मा आठ जना मात्र विद्यार्थी अहिले विद्यालयको सम्पर्कमा आएको उनले सुनाए। त्यसबाहेक अरू विद्यार्थी सम्पर्कमा आएका छैनन्। फाट्टफुट्ट रूपमा केही अभिभावकले विद्यार्थीको स्थानान्तरणको सिफारिसको लागि फोन भने गरिरहेको उनले बताए।

अहिले सत्संग होल्डीङ सेल्टरबाट आएका विद्यार्थीहरू शिशु कक्षदेखि नौ कक्षासम्ममा पढिरहेका छन्। तर आफ्नै विद्यार्थी भने सम्पर्कमा आए पनि स्थानान्तरण र भर्ना गरिसकेकाहरूले डेरा नपाएको, टाढा सरेको, काठमाडौं नबस्ने भन्ने जस्ता गुनासोसहित विद्यालय छोडेको प्रधानाध्यापक झा बताउँछन्।

“अरू त अरू हाम्रै विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको नानीबाबुसमेत नियमित यही राम्रो पढिरहनु भएको थियो। बस्ती भत्काइएपछि उहाँहरू नपालटारसम्म पुग्नु भएको खबर आयो,” उनले थपे, “यस्तो अवस्थामा पढाउनु भनेर शिक्षा विभागले भनेपछि हामीले नाइँ भन्ने अवस्था रहेन। बरु भर्ना नै गरेर, इमिसमा अपडेट गराएर पढाउनु भनेको भए हामीलाई पनि सहज हुन्थ्यो।”

अस्थायी बसोबास भएको कारणले केही समयपछि त्यहाँबाट उनीहरूलाई सारिने भनेर विद्यार्थीलाई भर्ना गरेर पढाउन महानगरले मानेनन्। ५८ मध्ये १७ जना विद्यार्थी विद्यालय जान मन नगरेर आएकै रहेनछन्। यस्तो अवस्थामा पनि महानगरले शिक्षा विभागको टोलीसँगै आफ्नै क्यामेराम्यानहरु समेत लगेर ‘होल्डीङ सेल्टरका विद्यार्थी विद्यालय जान थाले’ भने समाचार लेखाएर प्रचार समेत गर्यो।

यहाँ पढ्न आइरहेका विद्यार्थीहरूलाई विद्यालयले अन्य विद्यार्थी सरह दिवा खाजाको व्यवस्था समेत मिलाएको छ। तर भर्ना भएको र हाजिरको आधारमा मात्र दिवा खाजाको खर्च विद्यालयले पाउने गर्छन्। अहिले हाजिर गरेको आधारमा विद्यार्थीलाई खाजाको व्यवस्था गरे पनि महानगरको शिक्षा विभागले भने यसको खर्चबारे विद्यालयलाई केही पनि भनेको छैन।

विद्यार्थी जस्तो नदेखिएका विद्यार्थी
विद्यार्थीहरूलाई विद्यालयको पोशाक समेत विद्यालयलाई नै व्यवस्था गर्न भनेको रहेछ। तर भर्ना नभएको विद्यार्थीको नाममा पोशाकको खर्च जोड्नुले विद्यालयमै बेरुजु देखिने भएको कारणले प्रधानाध्यापक झाले ठाडै अस्वीकार गरेको बताए।

उनी भन्छन्, “हामीले विद्यालयमा खाजा थप गर्यौं। किताबहरू समेत बाढ्यौं। तर ड्रेस त धेरै महँगो छ। त्यति सब खर्च बेहोर्न हामी सक्दैनौ भन्यौं। पछि महानगरले नै खर्च गर्ने भनेर अहिले विद्यार्थीहरूको लागि ट्राकसुटको लागि नाप लिएर गएको छ। उहाँहरू जे भने पनि केही समयको लागि मात्र भन्नुहुन्छ। भर्ना नै नभएको विद्यार्थीलाई केही गर्न हामीलाई गाह्रो नै हुन्छ।”

उकेराकर्मी विद्यालय पुग्दा होल्डीङ सेल्टरबाट पढ्न गएका विद्यार्थीहरू विद्यालयका नियमित विद्यार्थीसँग घुलमिल भइसकेका देखिन्थे। अहिले यहाँ पढ्न राखिएका बालबालिका केही महिनाका लागि मात्र हुन् भने होल्डीङ सेल्टरमा रहेका अभिभावक समेत जानकार देखिएनन्। यो कुरा थाहा पाएसँगै उनीहरू थप चिन्तित बनेका छन्। 

कति बालबालिकालाई प्याब्सन, परोपकार लगायतका संस्थाले समेत पढाउने कुरा होल्डीङ सेल्टरमा भनिएको रहेछ। यहाँ पढ्नुभन्दा अघि विश्व निकेतन माध्यमिक विद्यालय, सिर्जनशील विद्यालय, प्रगति शिक्षा सदन, गुह्येश्वरी बाल शिक्षा, गुह्येश्वरी माध्यमिक विद्यालयमा पढिरहेका थिए। सबैभन्दा बढी छ कक्षामा पढ्ने विद्यार्थीहरू देखिए। जसमा १२ जना बस्तीका विद्यार्थी छन्।

व्यवस्थापनको छैन कुनै योजना
“डोजरले बस्तीहरूमा हानेपछि महानगरको शिक्षा विभागीय बैठक बसेको छैन। अब बस्ने बैठकमा पक्कै पनि यस विषय उठ्नेछ,” प्रधानाध्यापक झा भन्छन्, “हामी ठुलो मान्छेलाई त नयाँ ठाउँमा सेटल हुन कति गाह्रो हुन्छ। बालबालिकाहरूलाई त हामीले जहाँ संवेदनशील ढंगबाट हेर्नुपर्ने हुन्छ।” 

अहिलेसम्म विभिन्न होल्डीङ सेल्टरमा कति पढ्ने बालबालिका छन् भनेर महानगरपालिका देखि शहरी विकास मन्त्रालयसम्म यकिन तथ्यांक छैन। अब के हुन्छ ? विद्यार्थीको शिक्षा कसरी सुनिश्चित गरिन्छ ? उनीहरूलाई कसरी व्यवस्थित गरिन्छ ? भन्ने प्रश्नको जवाफ समेत महानगरसँग छैन। बरु तीन वटा सामुदायिक विद्यालय भत्काएको रेकर्ड भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले राखेको छ।

मनोहरा र बल्खु क्षेत्रको तीन वटा विद्यालयमा समेत सरकारले डोजर चलाएको थियो। अहिले त्यहाँ पढ्ने विद्यार्थीहरू समेत अधिकांश विद्यालयको सम्पर्कमा छैनन्। सम्पर्कमा आएका विद्यार्थीसँगै, शिक्षकदेखि विद्यालयका बचेका सामानसमेत सम्बन्धित वडामा रहेको विद्यालयमा स्थानान्तरण गरिसकेको छ।

महानगरको प्रशासन विभाग प्रमुख महेशकुमार काफ्ले भन्छन्, “अहिले हामीले सरकारलाई सपोर्ट गर्ने बाहेक केही गर्न सक्दैनौं। जति समय उहाँहरूलाई ‘होल्ड’ गरिराख्ने हो, त्यस बेलासम्म त्यही एउटा होल्डीङ सेल्टरमा हामी खाना र बस्नको व्यवस्थापन गरिदिने मात्र हो। पढाइको लागि पनि अहिले नै विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छैन। बीचमा ज्ञाप नरहोस् भनेर अहिले पढाइराखेका मात्र हौं।”

जेठ ३, २०८३ आइतबार १०:५८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।