महालेखापरीक्षकको प्रतिवेदन : विश्वविद्यालयका अतिक्रमित जग्गा फिर्ता गरी आयमूलक कार्यमा उपयोग गर्न सुझाव

महालेखापरीक्षकको प्रतिवेदन : विश्वविद्यालयका अतिक्रमित जग्गा फिर्ता गरी आयमूलक कार्यमा उपयोग गर्न सुझाव

काठमाडौं : त्रिभुवन विश्वविद्यालयसहित सुदूरपश्चिम र पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा विभिन्न व्यक्ति तथा संस्थाद्वारा अतिक्रमण गरिएको पाइएको छ। 

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले अतिक्रमित जग्गा तत्काल फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न सुझाएको छ।

प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा एक करोड ३१ लाख २२ हजार वर्गमिटर, भोगाधिकार नौ लाख ९९ हजार वर्गमिटरसमेत र अन्य छ लाख ५३ हजार वर्ग मिटरसमेत एक करोड ४७ लाख ८४ हजार वर्गमिटर जग्गा अतिक्रमित भएको जनाएको हो। 

यस्तै सुदूरपश्चिम विश्वविद्यालय मातहतको टीकापुर बहुमुखी क्याम्पस ३८० बिघा जग्गामध्ये ३०० बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न वडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त एक हजार ३७२ रोपनी १३ आना ३ पैसा जग्गामध्ये ६५२ रोपनीभन्दा बढी अतिक्रमण भएको देखिएको छ।

“विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्छ”, प्रतिवेदनमा भनिएको छ।

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले २०८२ पुस २ मा नेपाल सरकारसमक्ष बुझाएको प्रतिवेदनमा समितिले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन सुझाव दिएको थियो। 

जेठ २, २०८३ शनिबार १७:५६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।