लालीबजार विरुद्धको रिटमा सर्वोच्चद्वारा उच्च अदालतको आदेश सदर
काठमाडौं : सर्वोच्च अदालतले नेपाली फिल्म ‘लालीबजार’को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले बताए।
उनले भने, “उच्च अदालतकै निर्णयलाई सदर गर्ने फैसला भएको छ। यो मुद्दा हाल उच्च अदालतमै रहेकाले त्यही कानुन बमोजिम गर्नु र ध्यानाकर्षण गरिएको भनेर फैसला दिइएको छ।”
फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन्। शुक्रबार भएको सुनुवाइ भएपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो।
यो फैसलासँगै फिल्म ‘लालीबजार’लाई प्रदर्शनको लागि कानुनी बाटो खुला भएको छ। फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले चलचित्रमा कुनै समुदाय वा वर्गलाई ठेस पुर्याउने गरी कुनै दृश्य वा संवाद नभएको बताए।
“हामीले बनाएको चलचित्र हेरेर बादी समुदायकै अभियन्ताले धन्यवाद दिनुभएको छ। हालै मात्र सुर्खेतमा बादी समुदायकै १५० बढीले चलचित्र हेर्नुभएको थियो, जहाँ हामी उपस्थित हुँदा धन्यवाद दिनुभएको थियो। यो चलचित्रले शिक्षाको ज्योतिले जीविकोपार्जनमा ल्याउने परिवर्तनलाई देखाएको छ”, निर्माता खत्रीले भने।
बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथा रहेको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदीलगायतले अभिनय गरेका छन्।
यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ गत वैशाख २५ देखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनरत छ।
जेठ १, २०८३ शुक्रबार २०:५०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।