शून्यबाट अन्तर्राष्ट्रिय उचाइमा लुम्बिनी बौद्ध विश्वविद्यालय : डिजिटल युगमा छलाङ, तर नेतृत्वविहीनताले थप्यो अन्योल

शून्यबाट अन्तर्राष्ट्रिय उचाइमा लुम्बिनी बौद्ध विश्वविद्यालय : डिजिटल युगमा छलाङ, तर नेतृत्वविहीनताले थप्यो अन्योल

बुटवल : भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्थापना भएको लुम्बिनी बौद्य विश्वविद्यालय पछिल्लो दशकमा उल्लेखनीय रूपान्तरणको यात्रामा अघि बढेको छ।

सीमित संरचना, न्यून जनशक्ति र काठमाडौंकेन्द्रित प्रशासनबाट सुरु भएको विश्वविद्यालय अहिले अन्तर्राष्ट्रिय अनुसन्धान, बौद्ध अध्ययन, डिजिटल शिक्षण प्रणाली र शैक्षिक सहकार्यको केन्द्रका रूपमा विकसित भएको छ।

विश्वविद्यालयको यो रूपान्तरणमा पूर्वरजिष्ट्रार तिलकराम आचार्यको भूमिका निर्णायक रहेको विश्वविद्यालयसँग सम्बन्धित व्यक्तिहरू बताउँछन्। लगातार तीन कार्यकाल गरी करिब एक दशक नेतृत्व सम्हालेका आचार्य हालै सरकारले ल्याएको अध्यादेशपछि कार्यकाल नसकिँदै पदमुक्त भएका छन्।

उनले विश्वविद्यालयलाई प्रशासनिक अस्थिरताबाट बाहिर निकालेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आधार तयार पारेका छन्। तर नेतृत्व परिवर्तनसँगै कार्यान्वयनका चरणमा पुगेका केही महत्वपूर्ण योजना अलपत्र पर्ने चिन्ता पनि बढेको छ।

आचार्य स्वयं पनि विश्वविद्यालयको दीर्घकालीन विकास योजनाले निरन्तरता पाउनुपर्ने बताउँछन्। ‘व्यक्ति परिवर्तन हुन सक्छन्, तर विश्वविद्यालयका योजना रोकिनु हुँदैन’, उनले भने।

सम्पर्क कार्यालयबाट अन्तर्राष्ट्रिय पहुँचसम्म
२०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०६७ सालदेखि नियमित शैक्षिक कार्यक्रम सुरु गरेको थियो। कानुनी रूपमा केन्द्रीय कार्यालय लुम्बिनीमै भए पनि लामो समयसम्म प्रशासनिक काम काठमाडौंस्थित सम्पर्क कार्यालयबाट सञ्चालन हुँदै आएको थियो।

त्यतिबेला विश्वविद्यालयमा सीमित विषय र न्यून विद्यार्थी संख्या मात्रै थियो। स्थायी कर्मचारी अभाव, कमजोर संरचना र प्रशासनिक अनिश्चितताले संस्थालाई प्रभावकारी रूपमा अघि बढ्न कठिन भइरहेको अवस्था थियो।

२०७० सालपछि लुम्बिनीमै स्नातकोत्तर तहका कक्षा सञ्चालन हुन थालेसँगै विश्वविद्यालयले वास्तविक शैक्षिक स्वरूप लिन थाल्यो। त्यही समयदेखि विश्वविद्यालयलाई लुम्बिनीमै केन्द्रित गर्ने अभियान सुरु भएको थियो।

पछि रजिष्ट्रार बनेका आचार्यले काठमाडौंकेन्द्रित प्रशासन पूर्ण रूपमा लुम्बिनीमा सार्ने निर्णय गरे। विश्वविद्यालयभित्र यही कदमलाई संस्थागत विकासको मुख्य मोडका रूपमा लिइन्छ।

उनी निकट स्रोतका अनुसार प्रारम्भिक चरणमा कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीसमेत स्वयं व्यवस्थापन गर्नुपरेको थियो। अहिले भने विश्वविद्यालय बहुआयामिक शैक्षिक संरचनासहित विस्तार भइसकेको छ।

संस्थागत सुधार र शैक्षिक विस्तार
विश्वविद्यालयले पछिल्लो दशकमा प्रशासनिक र शैक्षिक दुवै क्षेत्रमा संरचनागत सुधार गरेको छ। स्थायी जनशक्ति व्यवस्थापन, नियमावली निर्माण, ऐन संशोधन र शैक्षिक स्वायत्तताको अभ्यासलाई संस्थागत स्थायित्वसँग जोडेर हेरिएको छ।

विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने लक्ष्यसहित बौद्ध दर्शन र हिमाली बुद्धिज्मसम्बन्धी अध्ययनलाई प्राथमिकतामा राखिएको थियो। सोही अवधिमा विभिन्न अनुसन्धान केन्द्र स्थापना गरिए भने अन्तर्राष्ट्रिय स्तरका जर्नल प्रकाशन र बौद्ध ग्रन्थ अनुवादको काम पनि अघि बढ्यो।

विश्वविद्यालय अहिले केवल बौद्ध अध्ययनमा सीमित छैन। पर्यटन, कानुन, विकास अध्ययनलगायत विषय थपिँदै गएपछि शैक्षिक दायरा उल्लेखनीय रूपमा विस्तार भएको छ। अहिले दुई संकायअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।

हिमाली बौद्ध अध्ययनका एक अध्येता भन्छन्, ‘लुम्बिनीलाई धार्मिक तीर्थस्थल मात्र नभई अन्तर्राष्ट्रिय बौद्ध बौद्धिक केन्द्रका रूपमा स्थापित गर्ने प्रयास विश्वविद्यालयले गरेको छ।’

अन्तर्राष्ट्रिय सहकार्यको केन्द्र
एक समय सीमित चिनारीमा रहेको विश्वविद्यालय अहिले विश्वका विभिन्न शैक्षिक संस्थासँग सहकार्य गर्ने अवस्थामा पुगेको छ। चीन, जापान, श्रीलंका, म्यानमार, कोरिया, अमेरिका र भारतका विश्वविद्यालय तथा संस्थासँग सम्बन्ध विस्तार गरिएको छ।

विश्वविद्यालयमा कन्फ्युसियस सेन्टर, चिनियाँ भाषा परीक्षा केन्द्र र आईसिसिआर चेयर स्थापना भएका छन्। विदेशी कूटनीतिक नियोगसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान र शैक्षिक संवाद कार्यक्रम सञ्चालन भइरहेका छन्।

यसको प्रभाव विदेशी विद्यार्थी संख्यामा पनि देखिएको छ। हाल विश्वविद्यालयमा विभिन्न देशका १८५ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।

सुरुमा साढे दुई बिघा क्षेत्रफलमा सीमित विश्वविद्यालय अहिले ११३ बिघा जमिनमा फैलिएको छ। देवदह क्षेत्रमा मात्रै ९२ बिघा जग्गा विश्वविद्यालयको नाममा आएको छ।

लुम्बिनीका विभिन्न स्थानमा प्रशासनिक भवन, पुस्तकालय, छात्रावास र शैक्षिक संरचना निर्माण भएका छन्। बुटवलमा सिटी क्याम्पस स्थापना गरिएको छ भने देवदहमा थप शैक्षिक पूर्वाधार निर्माण भइरहेको छ।

विश्वविद्यालयले दीर्घकालीन रूपमा २० हजार विदेशी विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्यसहित गुरुयोजना अघि बढाएको छ। आवास, अनुसन्धान केन्द्र, पुस्तकालय र अन्तर्राष्ट्रिय छात्रावास निर्माणका लागि अर्बौं रुपैयाँ लागत अनुमान गरिएको छ। हाल आधुनिक सभाहल, छात्रावास र अतिथि गृह निर्माणको काम पनि जारी छ।

डिजिटल विश्वविद्यालयको अभ्यास
लुम्बिनी बौद्ध विश्वविद्यालयले डिजिटल प्रणाली कार्यान्वयनमा पनि आफूलाई फरक रूपमा प्रस्तुत गरेको छ। भर्नादेखि प्रमाणपत्र वितरणसम्मका प्रक्रिया अनलाइन प्रणालीमा आधारित छन्।

परीक्षा प्रणालीमा कम्प्युटर आधारित अभ्यास लागू गरिएको छ भने नतिजा छिटो प्रकाशन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। विश्वविद्यालय अनुदान आयोगसँग डेटा प्रणाली जोडिएको छ।

विदेशमै रहेका विद्यार्थीलाई समेत परीक्षा दिने सुविधा विकास गरिएको विश्वविद्यालयले जनाएको छ। कोरोना महामारीका समयमा ‘होम सेन्टर’ अवधारणाबाट परीक्षा सञ्चालन गरिएको थियो।

पदपूर्तिमा समेत दक्षता र डिजिटल सीपलाई प्राथमिकता दिइएको थियो। कम्प्युटर सीप परीक्षण पार गरेपछि मात्रै अन्य प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था लागू गरिएको थियो।

विद्यार्थी संख्या र बजेटमा वृद्धि
विश्वविद्यालयको विकास विद्यार्थी संख्या र बजेट वृद्धिमा पनि देखिन्छ। स्थापना कालमा केही करोड रुपैयाँमा सीमित बजेट अहिले झण्डै ५० करोड रुपैयाँ पुगेको छ।

२०७२ सालतिर करिब ३ सय विद्यार्थी रहेको विश्वविद्यालयमा अहिले २ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। मानव संसाधनतर्फ पनि विस्तार भएको छ। हाल विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक गरी १ सयभन्दा बढी कर्मचारी कार्यरत छन्। साथै आंगिक, सम्बन्धन र सहकार्य क्याम्पसको संख्या पनि बढेको छ।

अध्यादेशमार्फत पदमुक्त भएका पूर्वरजिष्ट्रार तिलकराम आचार्य

सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेपछि अहिले विश्वविद्यालय नेतृत्वविहीन अवस्थामा पुगेको छ। उपकुलपति नियुक्तिका लागि प्रक्रिया सुरु भए पनि नयाँ नेतृत्व आउन समय लाग्ने देखिएको छ।

यसबीच विश्वविद्यालयका दीर्घकालीन योजना, विशेषगरी देवदह गुरुयोजना र अन्तर्राष्ट्रिय विद्यार्थी विस्तार कार्यक्रम प्रभावित हुन सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्। पूर्वरजिष्ट्रार आचार्य भने आफू स्थायी सहप्राध्यापकको भूमिकामै रहेर विश्वविद्यालयका अधुरा योजना पूरा गर्न योगदान दिने बताउँछन्।

वैशाख २९, २०८३ मंगलबार ०८:५९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।