'जादुई शक्ति भएको भ्रममा पारी इमामले मेरो यौन शोषण गरे'
एजेन्सी : पूर्वी लण्डनस्थित एउटा मस्जिदका एक धार्मिक नेता (इमाम)लाई बालिका तथा महिलाहरूमाथि सिलसिलाबद्ध रूपमा यौन शोषण र बलात्कार गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ।
५४ वर्षीय अब्दुल हलिम खानलाई बेलायतको अदालतले कम्तीमा २० वर्ष जेलमा बस्नुपर्ने गरी जन्मकैदको फैसला सुनाएको हो। खानले सन् २००४ देखि २०१५ सम्मको ११ वर्षको अवधिमा ७ जना बालिका तथा महिलाहरूलाई बलात्कार र यौन उत्पीडन गरेको नौ वटा मुद्दामा दोषी ठहर गरिएको छ।
पीडितलाई प्रभावमा पार्ने
अदालतमा पेश गरिएको विवरण अनुसार खानले आफ्नो धार्मिक ओहदाको दुरुपयोग गर्दै पीडित र उनीहरूका अभिभावकलाई अलौकिक शक्तिमार्फत उपचार गर्ने भ्रममा पारेका थिए। उनले बालिका र युवतीहरूलाई दुष्ट आत्माबाट बचाउनुपर्ने भन्दै फ्ल्याट वा कार जस्ता एकान्त ठाउँमा भेट्न बोलाउने गर्थे।
प्रेतात्मा भएको नाटक गर्दै उनले पीडितहरूमाथि बलात्कार र यौनजन्य हिंसा गर्ने गरेको अनुसन्धानबाट खुल्यो। बालिकालाई यसबारे कसैलाई बताएमा परिवारलाई अलौकिक शक्ति वा कालो जादुमार्फत क्षति पुग्ने भनेर त्रसित पार्ने गरेका थिए।
यस घटनाका पीडितमध्ये सबैभन्दा कम उमेरकी बालिका १२ वर्षकी थिइन्। आरिया (परिवर्तित नाम)ले आफू १३ वर्षको छँदा खानले कारभित्र यौन उत्पीडन गरेको बताइन्। उनले भनिन्, "उनले मलाई आँखा बन्द गर्न लगाए र कारको झ्यालमा आवाज आउनेछ भने। म निकै डराएकी थिएँ र उनले मलाई गलत तरिकाले छोए।"
अर्की पीडित फराह (परिवर्तित नाम) ले आफ्नो बाल्यकालदेखि नै खानले परिवारको विश्वास जितेर शोषण गरेको उल्लेख गरेकी छन्। फराहले किशोरी अवस्थामा पुगेपछि यसबारे परिवारलाई जानकारी गराउँदा उनीहरूले विश्वास नगरेको र उनले घर छोड्नुपरेको पीडा सुनाइन्। -बीबीसी हिन्दीबाट
जेठ ३, २०८३ आइतबार ०८:२३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।