मन्त्रालयको संख्या कटौतीसँगै कार्यविभाजन हेरफेर, प्रधानमन्त्री बालेनसँग तीन मन्त्रालय

मन्त्रालयको संख्या कटौतीसँगै कार्यविभाजन हेरफेर, प्रधानमन्त्री बालेनसँग तीन मन्त्रालय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् पुनः गठन गरेका छन्।

यसअघि प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको थियो। सोहीअनुरूप मन्त्रिपरिषद्मा कार्य विभाजन हेरफेर गरिएको हो।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम विसं २०८२ चैत १३ गते गठित प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा बिहीबार मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्य विभाजन गरी पुनः गठन गरेका हुन्।

कार्य विभाजनअनुसार प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन्। 

त्यसैगरी अर्थमन्त्रीमा डा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्रीमा सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीता वादी रहनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चार मन्त्रीमा डा विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

वैशाख ३१, २०८३ बिहीबार २१:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।