प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर हर्क साम्पाङको टिप्पणी : काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्न पाइँदैन
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र संसदीय जवाफदेहिताको विषयलाई लिएर टिप्पणी गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै साम्पाङले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै सुन्ने अडान राखे। उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि संसदमा उपस्थित नभए श्रम संस्कृति पार्टी बैठकबाट बाहिरिने समेत बताए।
उनले भने,"उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिने छौं।"
उनले संसदमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नमिल्ने भन्दै कटाक्ष गरे।
उनले भने, "आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ। काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन।"
वैशाख ३१, २०८३ बिहीबार १८:०८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।