श्रीकृष्ण विक प्रकरण : मृत्युको कारण आत्महत्या, लापरबाहीमा इन्स्पेक्टरसहित दुईलाई कारबाहीको सिफारिस
काठमाडौं : सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विकको घटनाबारे छानबिन समितिले उनको मृत्युको आत्महत्या नै रहे पनि प्रहरीबाट जिम्मेवारीमा लापरबाही भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ।
छानबिन समितिले पोस्टमार्टम रिपोर्टको आधारमा मृत्युको कारण आत्महत्या नै देखिएको तर प्रहरी हिरासतभित्रै आत्महत्या हुनुमा प्रहरीको लापरबाही रहेको भन्दै उनीहरूमाथि विभागीय कारबाहीको सिफारिससहित प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाएको हो।
डिआइजी दिनेशकुमार आचार्यको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले बुझेर गृह मन्त्रालय पठाइसकेको छ।
को-को परे कारबाहीको सिफारिसमा?
स्रोतका अनुसार छानबिन समितिले सुरक्षा र व्यवस्थापनमा कमजोरी औँल्याउँदै दुई प्रहरी कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ। प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वसन्त भुजेल र घटनाको समयमा हिरासतको डिउटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाहीको सिफारिस गरेको छ। प्रहरी निरीक्षक भुजेललाई खुर्कोटबाट सरुवा गरी बागमती प्रदेश प्रहरी कार्यालय तानिइसकिएको छ।
के थियो घटना ?
गत वैशाख ७ गते साँझ ६ बजेतिर हिरासतको शौचालयमा श्रीकृष्ण विक झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई उद्धार गरी सिन्धुली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
विक र खोटाङकी एक १६ वर्षीया किशोरीबिच करिब २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। किशोरी हराएको भन्दै परिवारले खोजतलासका लागि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएपछि वैशाख ३ मा उनी पक्राउ परेका थिए।
किशोरीका आफन्तले बलात्कारको जाहेरी दिएपछि त्यसैको आधारमा पक्राउ परेका श्रीकृष्णलाई अनुसन्धानका लागि सिन्धुली पठाइयो। वैशाख ४ गते विकलाई खुर्कोट पठाइएको थियो। पछि उनी प्रहरी हिरासत कक्षमा मृत फेला परे।
सांसदहरूको दबाब र छानबिन
घटना शंकास्पद रहेको भन्दै रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा र नेकपाका सांसद गणेश विक लगायतले सिन्धुली प्रशासन कार्यालय पुगेर धर्ना दिएका थिए।
दबाबपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वैशाख ११ गते डिआइजी आचार्यको नेतृत्वमा समिति गठन गरेका थिए। समितिले मृतकको पोस्टमार्टम रिपोर्ट लगायतका आधारमा प्रतिवेदन तयार गरेर बुझायो।
वैशाख ३१, २०८३ बिहीबार १७:०४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।