हामीलाई प्रधानमन्त्रीको अनुहार होइन, जवाफदेहिता चाहियो : सांसद ओली
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुम्बु ओलीले संसद्मा प्रधानमन्त्रीको खोजी केवल 'अनुहार हेर्नका लागि' नभई 'जवाफदेहिताका लागि' भएको बताएकी छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री सदनप्रति अनिच्छुक र संसदीय अभ्यासप्रति अनुत्तरदायी बनेको आरोप लगाइन्।
उनले लोकतन्त्रलाई केवल चुनाव जित्ने प्रणालीका रूपमा मात्र नहेरी यसलाई निरन्तर संवादको अभ्यासका रूपमा बुझ्नुपर्ने बताइन्।
‘सदनमा हामीले प्रधानमन्त्रीको उपस्थिति खोज्नुको अर्थ उहाँको अनुहार हेर्नु होइन, उहाँबाट जवाफदेहिता खोज्नु हो’, उनले भनिन्।
सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै मुख्य दस्तावेज भए पनि उनी छलफलमा उपस्थित नभएकोमा ओलीले असन्तुष्टि व्यक्त गरिन्।
पहिलो अधिवेशनमा पनि प्रधानमन्त्री नबोली बाहिरिएको स्मरण गर्दै उनले दोस्रो अधिवेशनमा पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताइन्।
सांसद ओलीले प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरेर सामाजिक सञ्जालमार्फत जनतालाई जवाफ दिने गरेकोमा कडा टिप्पणी गरिन्।
‘हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौँ, तर प्रधानमन्त्री ज्यू सामाजिक सञ्जालमा बसेर देश र जनतालाई जवाफ दिनुहुन्छ,’ उनले भनिन्, ‘यसले उहाँ संसदीय अभ्यासप्रति उत्तरदायी बन्न नखोजेको देखिन्छ।’
प्रधानमन्त्रीको अनुपस्थितिले संसद्को गरिमा र जनताका जल्दाबल्दा प्रश्नहरूको अपमान भएको तर्क गर्दै उनले सरकारलाई सदनप्रति जिम्मेवार बन्न आग्रह गरिन्।
वैशाख ३१, २०८३ बिहीबार १२:१२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।