जापानमा ११ अर्ब येनभन्दा बढीको लागूऔषध बरामद हुँदा एक नेपालीसहित तीन जना पक्राउ

जापानमा ११ अर्ब येनभन्दा बढीको लागूऔषध बरामद हुँदा एक नेपालीसहित तीन जना पक्राउ

एजेन्सी : जापानको आइची प्रिफेक्चरल प्रहरीले ११ अर्ब ४३ करोड येन मूल्य बराबरको प्रतिबन्धित लागूऔषध ‘मेथाम्फेटामाइन’ तस्करी गरेको आरोपमा एक नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने नेपाली नागरिक टोयोकावा शहरमा बसोबास गर्ने ३७ वर्षीय कृष्ण गिरी रहेको याहु जापान न्यूजले जनाएका छन्।

गिरी एक स्थानीय कम्पनीका कार्यकारी अधिकारी रहेको खुलेको छ। उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनीहरूले गत मार्च महिनामा यूएई बाट समुद्री मार्ग हुँदै २१५ केजी ‘मेथाम्फेटामाइन’ तस्करी गरेका थिए।

कोबे बन्दरगाहमा आइपुगेको उक्त परिमाणको लागूऔषध कपासका झुप्पाहरूभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। भन्सार अधिकारीहरूले चेकजाँचका क्रममा शंकास्पद वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

बरामद गरिएको उक्त लागूऔषध आइची प्रिफेक्चरको इतिहासमा प्रहरीले जफत गरेको दोस्रो ठूलो परिमाण हो। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ११ अर्ब ४३ करोड येनभन्दा बढी पर्ने बताइएको छ।

प्रहरीले पक्राउ परेका अभियुक्तहरूले आफ्नो अपराध स्वीकार गरे वा गरेनन् भन्नेबारे हालसम्म केही खुलाएको छैन। यस गिरोहमा अन्य व्यक्तिहरूको संलग्नता र अन्तर्राष्ट्रिय तस्करी सञ्जालबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख ३१, २०८३ बिहीबार ०९:५५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।